राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण


काठमाण्डु- नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ काठमाण्डुमा सम्पन्न भएको छ ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्टिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रामचरित्र मेहताले नगद पुरस्कार, शिल्डमेडल तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितमा पुरुष सिनियरतर्फ शरदकुमार राई पहिलो, विजय लिम्बु दोस्रो र विजय गुरुङ तेस्रो भए । महिलातर्फ खुसी विक पहिलो, समीक्षा राई दोस्रो र समिरा रानामगर तेस्रो भइन् ।

यस्तै पुरुष जुनियरतर्फ अंकित विक पहिलो, अभिषेश परियार दोस्रो र सन्देश नेपाली तेस्रो भएका छन् ।

पुरुष तथा महिला सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपियाँ प्रदान गरिएको छ । यस्तै जुनियर पुरुष तथा महिला समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा देशभरबाट १५० पुरुष र १०० महिला खेलाडीको सहभागिता रहेको थियो । दुईदिने प्रतियोगितामा पहिलो दिन शनिबार छनोट चरणका खेल भएका थिए भने आइतबार दोस्रो दिन उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा भएका थिए ।

आइतबार प्रतियोगिताको उद्घाटन गर्दे शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एमबुद्ध पार्क महानगरपालिकामा हुँदा आफूहरुले सोचे जस्तो बनेको बताउदै यसले स्केटिङ तथा स्केटबोर्डिङ खेललाई उचाईमा पुर्‍याउन मद्दत पुग्ने बताए ।

उनले भने, ‘खुला सार्वजनिक जग्गामा यस्ता स्केटबोर्ड सहितका खेलका लागि खेल मैदान बनाएर खेलको विकास गर्ने अभियानमा सरकार रहेको छ ।’

काठमाण्डु महानगरपालिकाको वडा नम्बर ५ मा हाँडीगाउँ पहेलो पुल नजिक बनेको एमबुद्ध पार्कको निर्माणले आफू उत्साहित भएको उल्लेख गर्दे मन्त्री पोखरेलले यो पार्कको सुरक्षित भएर सदुपयोग गर्न पनि स्थानीयलाई आग्रह गरेका थिए ।

पुरस्कार वितरण गर्दे राखेपका सदस्य सचिव मेहताले सरकारले सबै खेलको विकास बिस्तार गर्ने र खेलाडीको पीरमर्का बुझ्ने नीति लिएको बताए ।

उनले स्केटमा पूर्वाधार विकास भइरहेको बताउदै यसले खेल र खेलाडीको विकासमा सहयोग पुग्ने बताउदै अब देश, विदेशबाट खेलाडी मेडल जित्ने अपेक्षा गरे ।

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाण्डुमा आयोजना भइसकेका छन् । उद्घाटन र पुरस्कार वितरण कार्यक्रम संघका अध्यक्ष अच्युत खनालको अध्यक्षतामा भएको थियो ।