काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी आज विशेष बुलेटिन जारी गर्दै शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएको हो ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि आजदेखि तीन दिनसम्म मौसम गढबढ हुनेछ ।
आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भेगका धोरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा समान्यतया सफा रहनेछ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार देशका पूर्वी भू–भाग र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा सामान्यतया सफा रहने विभागले जनाएको छ। देशको पूर्वी पहाडी भू–भागका एक/दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
मुस्ताङमा हिमपातः
मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।
सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए ।
जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ ।
लोमानथाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका बिहीबार बेलुका केही मात्रामा मात्र हिउँ परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं १ का अध्यक्ष टसीढिन्डु ठकुरीले जानकारी दिए ।
बिहीबाररातभर हिँउ परेपनि आज बिहान मौसम खुला भएको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि हिउँ पग्लिएपछि छाडिने उनले जानकारी दिए ।
सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।
उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो ।
वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने घरपझोङ्ग गाउँपालिका–५ ठिनीका कृषक पलडिसी थकालीले बताए ।
हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने जनाइएको छ । स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यकता पर्ने, चिलिङ्ग रिक्वायरमेन्टका लागि शून्य तापक्रमको आवश्यकता पर्ने हुँदा हिउँ पर्दा राम्रो हुने स्याउ जोनका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए । हिउँ परेपछि स्याउ, जौँ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।




प्रतिक्रिया