काठमाण्डु – सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सूचीकृतका लागि सरकारले दिएको समयसीमा बुधबार राति १२ बजेदेखि सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुक, एक्सलगायत कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्महरू सूचीकृत हुन आएका छैनन् ।
सरकारले पछिल्लो पटक भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाल प्लाटफर्महरूलाई एक हप्ताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । तोकिएको समयमा सूचीकरण हुन नआए क्रमशः बन्द गर्दै जाने सरकारले चेतावनी पनि दिएको थियो । सरकारले दिएको म्याद गएराति सकिए पनि फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द भएको छैन ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचीकृत नभए सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द गर्ने पटकपटक चेतावनी दिएका थिए ।
फेसबुकलगायत सामाजिक सञ्जाल बन्द भएमा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने भएकाले चेतावनी दिने, तर तत्काल बन्द नगर्ने सरकारको मनस्थिति रहेको बुुझिएको छ ।
सूचीकृत नभए बन्द गर्ने भन्दै चेतावनी दोहोर्याउँदै आएको सरकारले सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय पार्ने मनस्थितिमा छ । तर, त्यसको मोडालिटीबारे सरकार आफै अन्योल छ ।
सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सूचीकृत हुन आग्रह गर्दै छैटौँ पटक सूचना निकालिसकेको छ । सबैभन्दा पहिला १५ मंसिर २०८० मा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुन अनुरोध गरिएको थियो । २५ भदौ २०८१ मा मन्त्रालयको वेबसाइटमा निर्देशिका र सरकारको निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशन गरिएको थियो । २१ माघ २०८१ मा सूचीकरणका लागि आह्वान गरिएको थियो । यस्तै ७ चैत २०८१ मा सूचीकरणका लागि अन्तिम म्याद भन्दै ३० दिनको समय दिएर पुनः सूचना प्रकाशन गरिएको थियो । पछिल्लो पटक १२ भदौमा ७ दिनको अर्को अन्तिम म्याद दिइएको थियो जुन बुधबार गुज्रिएको छ ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार तोकिएको समयभित्र सूचीकरणका लागि सम्पर्कमा नआउने प्लाटफर्मलाई क्रमशः निष्क्रिय गराउने र दर्ता प्रक्रिया पूरा गरे तत्काल पुनः सक्रिय गराउने विषयमा छलफल भइरहेको छ ।




प्रतिक्रिया