देशै हल्लाउने एउटा शंका, आधार भेटिएन


सोलखुम्बु – सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो। कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’।

विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा भागेको, विप्लवका कार्यकर्ताले चौकी पाँच घन्टा नियन्त्रणमा लिएको जस्ता समाचार आइरहे। घटनाको पुष्टि न प्रहरीले गर्‍यो न स्थानीयले। सनसनीपूर्ण खबरपछि गृह मन्त्रालयमा सुरक्षा निकायका तीनवटै प्रमुखसहित मन्त्रीको बैठक बस्यो। बैठकले त्यस क्षेत्रमा सुरक्षा निकाय सचेततापूर्वक परिचालन गर्ने निर्णय गर्‍यो।

स्थानीय बासिन्दाका अनुसार त्यहाँ न विप्लवका नेताकार्यकर्ताले धावा बोलेका थिए, न कब्जा गर्ने उद्देश्यले नै पुगेका थिए। त्यहाँ विप्लवका नेताकार्यकर्ता भने देखिएका थिए। गाउँपालिकाका अध्यक्ष सागर किरातीले चौकीमा आक्रमणबारे आफूलाई जानकारी नभएको टेलिफोनमार्फत अन्नपूर्णलाई बताए। उनले केही दिनदेखि गाउँमा बाहिरबाट आएका व्यक्तिको बाक्लो उपस्थिति भने स्वीकारे। ‘गाउँपालिकाको ५ नम्बर वडाको नुर्कुम र अन्य केही ठाउँमा विप्लवका कार्यकर्ताको आउजाउ गरिरहेको रिपोर्ट आएको हो,’ अध्यक्ष किरातीले भने, ‘नेपाल प्रहरी र सशस्त्रको गस्ती परिचालन भएको छ। तर यहाँ अहिलेसम्म कुनै घटना भएको छैन।’

स्थानीयका अनुसार उक्त क्षेत्रमा विप्लवका नेताकार्यकर्ताको भने केही समययता चहलपहल बढेको थियो। नयाँ अनुहार भएका मान्छेको चहलपहल बढेपछि प्रहरी चौकीका सीमित प्रहरीलाई आफैंमाथि आक्रमणका लागि संगठित भएर आएको सुराक पुगेको थियो।

छेस्काममा सातजना प्रहरी रहे पनि आइतबार असईको कमान्डमा चार जना मात्रै थिए। उनीहरुले आक्रमण गर्ने संकेत पाएपछि प्रहरी चौकी छोडेर आफैं सुरक्षित बसेका मात्र हुन्। विप्लवका नेताकार्यकर्ताको बाक्लो उपस्थितिले त्यहाँ हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्ने र उनीहरूका गतिविधि अध्ययन गर्ने उद्देश्यले अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement