हवाई सेवा नहुँदा खुम्बुको औषधि काठमाडौँमै रोकियो

हवाई सेवा नहुँदा खुम्बुको औषधि काठमाडौँमै रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँमै रोकिएको छ ।

लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब रु सात लाख बराबरको मास्क, पञ्जा, स्यानिटाइजर, पिपिइ सेट, औषधिलगायतका सामग्री काठमाडौँमा थन्किएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा अहिले औषधिलगायतका कोरोना सुरक्षा स्वास्थ्य सामग्री अभाव रहेको छ । पालिकाको सबै वडामा मास्क, स्यानिटाइजर, पिपिइलगायत अन्य औषधिसमेत अभाव हुन थालेको उनको भनाइ छ ।

लकडाउनअघि काठमाडौँमा सामग्री अभाव भएकाले त्यसपछि खरिद गरिएका कुनै पनि सामग्री ढुवानी गर्न सकिएको छैन ।

खुम्बुमा ढुवानीको एक मात्र सहज माध्यम विकल्प हवाईमार्ग रहेको छ । लकडाउनसँगै देशभरको हवाई सेवा बन्द हुँदा खाद्यान्नसहित स्वास्थ्य सामग्री ढुवानी गर्न नसकिएको भट्टराईले बताए ।

यसैबीच खुम्बु पासाङल्ह्मु गाउँपालिका–१ खरिखोलाबाट खुम्बु भित्रिने व्यक्ति बढेको स्थानीयवासीले बताएका छन् ।

खरिखोला प्रहरी चौकीमा सुरक्षाकर्मी सीमित हुँदा विभिन्न नाका हुँदै गाउँपालिका भित्रिने क्रम बढेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए । उनका अनुसार ११ जनाको दरबन्दी रहेको खरिखोला प्रहरी चौकीमा पाँच मात्रै प्रहरी हुँदा नाकामा कडाइ गर्न नसकिएको हो ।