काठमाण्डु- धेरैले मन मनपराउने सुख्खा मिठाई हो सोन पापडी । बाह्रै महिना पाइने यो मिठाई जति लोभलाग्दो र स्वादिलो छ यसको इतिहास पनि रोचक छ ।
नेपालका हरेक सहर गल्लीमा सहजै पाइने र सबै वर्गलाई रुचाउने यो मिठाईको कहानी पनि लोभलाग्दो छ ।
तर, एउटा सत्य के हो भने तपाईंलाई सोन पापडी मन परोस् या नपरोस् तर तिहार, भाइटीका या अन्य चाडपर्वको समयमा यसलाई नजरअन्दाज गर्न सकिँदैन ।
सोन पापडीलाई सोहन पापडी, पतीसा, शोण पापडी, सन पापडी आदि नामले पनि चिनिन्छ । यो मुख्यतः बेसन, घिउ र चिनीबाट बनाइन्छ ।
तर के तपाईंलाई थाहा छ—मुखमा पसेपछि तुरुन्तै पग्लिने यो मिठाई वास्तवमा कहाँबाट आएको हो ?
वास्तवमा सोन पापडी केवल तिहारमा मात्र खान पाइने मिठाई होइन । यो त वर्षभरि उपलब्ध हुन्छ । गल्लीका पसलदेखि ठुला मार्टसम्म यो सहजै पाइन्छ ।
सोहन पापडीमा दूध हुँदैन । यो बेसन र चिनीबाट बनाइन्छ, जसले गर्दा यो लामो समयसम्म पनि बिग्रँदैन । यही कारणले ठूला ब्रान्डहरूले यसलाई देश–विदेशमा ठुलो मात्रामा पठाउँछन् । यो मोतीचूरको लड्डु वा काजु कतलीझैँ कुनै पनि अवसरमा खाने मिठाई हो ।
ईरानबाट आएको प्रेरणा
केही मानिसहरू सोन पापडीलाई अविभाजित भारतको पंजाबमा बनाइने पतीसाबाट विकसित मान्छन् । तर वास्तवमा यो मिठाईलाई फारसी पश्मकबाट प्रेरित गरिएको हो ।
पश्मक फारस (ईरान)को प्रसिद्ध मिठाई हो, जसको अर्थ नै “ऊनजस्तो मिठाई” हो । यो पनि सोन पापडीझैँ रेशाबाट बनाइन्छ । यसमा चिनी, घिउ, गहुँको पिठो, इलायची, पिस्ता र बदाम प्रयोग गरिन्छ ।
१९औँ शताब्दीमा फारसी व्यापारीहरूले मुम्बई र कराचीका बन्दरगाहमा पश्मक र अन्य मिठाइ बेच्थे । तर भारतमा आइपुगेपछि भारतीयहरूले यसलाई स्थानीय स्वादअनुसार रूपान्तरण गरे ।
पश्मकमा प्रयोग हुने गहुँको सट्टा बेसन र मैदा तथा बढी घिउ र इलायची प्रयोग गरियो । यसलाई चिस्याएर तान्ने ‘देशी’ तरिका अपनाइयो र चौकोर टुक्रामा काट्न थालियो ।
यसरी फारसी पश्मक र भारतीय सोहन हलवाको मिश्रणबाट नयाँ मिठाई जन्मियो । ९० को दशकमा जब यो प्याक गरेर ब्रान्डेड वस्तुका रूपमा बेचिन थाल्यो ।
‘सोहन’ शब्द संस्कृतको ‘शोभन’ (सुन्दर) बाट आएको हो । मिर्जा गालिबका एक पत्रमा पनि ‘सोहन’ शब्दको प्रयोग पाइन्छ, जहाँ उनले बाजराको हलुवाको चर्चा गरेका छन् ।
सोहन पापडीको सम्भावित सम्बन्ध फारसी सोहन हलवासँग पनि छ । यो मिठाई फारस र तुर्किस्तान हुँदै भारत आएको हो ।
सोहन हलवा गहुँबाट बन्थ्यो र बाक्लो हुन्थ्यो, तर सोहन पापडी बेसनबाट बन्न थाल्यो र रेशादार भयो ।
१८औँ शताब्दीमा भारतको अवध क्षेत्रमा सोहन पापडी बनाउन थालियो र यसलाई चार किसिमका ‘सोहन मिठाई’ मध्ये एक गनिन्थ्यो । २०औँ शताब्दीमा बिहार र बंगालमा यसको विस्तार भयो ।
नेपालमा कसरी भित्रियो
यसमा कुनै शंका छैन कि यो मिठाई नेपालमा भारतबाट आएको हो । तर यो भारतीय मिठाई भने होइन । भारतमा पहिलो यो मिठाई पंजाबमा पाइन्थ्यो । त्यहीँबाट भारतभरि विस्तार भएको हो ।
पंजाबमा पहिला पहिला बेसन लड्डुसँगै पतीसा बनाइन्थ्यो, जुन पछि सोहन पापडीमा रूपान्तरण भएको हो ।
एउटा अर्को मिठाई सौन्ध हलवा पनि छ, जुन १८औँ शताब्दीमा नाइजीरिया हुँदै भारत आइपुगेको थियो, तर यो सोन पापडीभन्दा फरक थियो ।
आजकल यसको ठुलो मात्रामा उत्पादन हुन्छ, सस्तो हुन्छ । यसमा दूध नहुँदा लामो समयसम्म बिग्रँदैन । यही कारणले तिहारसहित अन्य चाडपर्वमा यसको महत्व बढेको पाइन्छ ।
दुई संस्कृतिको मिठो मेल
सोन पापडीको कथा वास्तवमा दुई संस्कृतिहरूलाई जोड्छ । कतिपयले यसलाई भारतको पंजाबी पतीसासँग जोड्छन् भने अरुले यसलाई फारसी पश्मकसँग सम्बन्धित ठान्छन् ।
तर दुवै पक्ष केमा सहमत छन् भने यसको रेशादार बनावट र मुखमै पग्लिने स्वाद नै यसलाई अनोठो बनाउँछ ।




प्रतिक्रिया