निर्मला हत्याकाण्ड : बर्खास्तीमा परेका एसपी विष्ट भन्छन्–सत्यतथ्य बाहिर आएरै छोड्छ


काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा लापरबाही गरेको भन्दै सेवाबाट बर्खास्तीमा परेका तत्कालिन एसपी डिल्लीराज विष्टले सत्यतथ्य बाहिर आएरै छाड्ने दाबी गरेका छन् ।

उनले आफू निर्दोष भएकाले अनावश्यक दुःख दिइएको भन्दै सत्यको जित हुने बताएका छन् । मैले के काम गरेँ, त्यसको रिपोर्ट कहाँ कहाँ गरेँ भनेर अहिले भन्दिनँ, त्यो पछि सबैलाई थाहा हुने कुरा हो । त्यो समयले देखाउँछ । म गलत छैन भन्ने कुरा पछि थाहा होला,’ उनले भने ।

उनले आफूले मात्र निर्मला हत्याको विषय लुकाउन नसक्ने भन्दै वास्तविकता बाहिर आएरै छाड्ने दाबी गरे । निर्मलाका हत्यारा आफूले नलुकाएको विष्टले खुलासा गरेका छन् । ‘मैले आफूले सकेको गरेको हुँ । फिल्डमा डिएसपीदेखि अन्य अधिकारी पनि परिचालित थिए । जिल्ला प्रहरी कार्यालयमा त्यति धेरै जनशक्ति छन्, जुन आरोप लगाइएको छ, त्यो मबाट हुने सम्भवको कुरै हैन,’ उनले भने ।

‘सरकारले न्याय दिन्छ भन्ने कुरामा म विश्वस्त छु । किनभने म माथि लागेको आरोप पनि सरकारले पुष्टी गर्न सक्नुपर्छ । आरोप लगाउँदैमा सबै आरोप पुष्टी हुन सक्दैन । काम गर्दा कहीँ प्राविधिक त्रुटी भयो होला, तर त्यसलाई नियतवश भनेर शंका गर्दै बर्खास्तीसम्म गर्नु न्यायिक काम हुन सक्दैन । त्यसकारण मैले पुनरावेदन गरेपछि सरकारले न्याय दिन्छ भन्नेमा म विश्वस्त छु,’ विष्टले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement