काठमाण्डु- जम्मा आठ दिन बिताउने उद्देश्य राखेर अन्तरिक्षमा गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन् ।
अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनिता विलियम्स तथा दुई जना अन्तरिक्ष यात्रीहरू अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका हुन् ।
उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ ।
नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन् ।
बुच र सुनिता गत वर्ष जुनमा अन्तरिक्षमा पुगेका थिए । तर उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू त्यही फसेका थिए ।
अन्ततः झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्¥यागन क्याप्सुलमा पृथ्वी फर्किए ।
पृथ्वीभन्दा ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्षयात्रीहरूको जीवन कस्तो रह्यो र उनीहरूले त्यहाँ कसरी समय बिताए ? अवश्य पनि उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए ।
६९ वर्षीया सुनीता र ६२ वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ‘स्पेशवाक’हरू गरेर समय बिताएका थिए ।
जनवरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन् । त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए ।
उनीहरूले गरेका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स–रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए ।
उनीहरूले उक्त अवस्थालाई लामो समयको अन्तरालमा आफू अनुकूल बनाउँदै गए । उनीहरूलाई अवश्य पनि पृथ्वीबारे सोच्ने अवसर दियो । उनीहरूले कैयौँ सूर्योदय र सूर्यास्त देख्न पाए ।
स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ । उक्त स्टेशनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देखेका थिए ।
पृथ्वीको यस्तो अनौठो दृश्यको साथ बाँच्न पाउनुले यसलाई मनन गर्न प्रशस्त अवसर दिने सुनीताले अनुभूत गरेकी छन् ।
अन्तरिक्षबाटै मतदान
बुच र सुनीतासँगै आईएसएसमा रहेका डन पेटिट र ननिक हग पनि अमेरिकी नागरिक हुन् । उनीहरू चारै जनाले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाए ।
बुच र नासाले उनीहरूलाई चुनावमा सहभागी हुनका लागि निकै सहज बनाइदिएका थिए ।
मतदानमा सहजीकरण गर्नका लागि ह्युस्टनस्थित मिशन कन्ट्रोल सेन्टरले इन्क्रिप्टेड इमेलमार्फत् आईएसएसमा मतपत्र पठाएको थियो । ती अन्तरीक्षयात्रीहरूले मतपत्रमा मत जाहेर गरेपछि भूउपग्रहको माध्यमबाट न्यू मेक्सिकोको ग्राउन्ड टर्मिनलमा जोडिएको थियो ।
त्यहाँबाट ल्यान्डलाइनहरूले मतपत्रलाई मिशन कन्ट्रोलमा पठाए र त्यहाँबाट विद्युतीय रूपले त्यो उनीहरूको निर्वाचन क्षेत्र पठाएर मत दायर गराइयो ।
बुचका लागि दिनको सुरुवात बिहान ४ः३० मा हुन्थ्यो भने सुनी केही ढिलो गरी ६ः३० मा उठ्ने गर्थिन् । दुवैले अन्तरिक्षमा बस्दा हड्डीको घनत्वमा हुने कमीसँग लड्न दैनिक दुई घण्टा वा सोभन्दा बढी व्यायाम गरेर आनन्द लिएको बताउँछन् ।
क्रिस्मसमा रमाइलो

गत वर्षको क्रिस्मसमा आईएसएसका अन्तरिक्षयात्रीहरूले एक सन्देश पोस्ट गर्दै पृथ्वीमा रहेका आफ्ना साथीहरू र परिवारलाई क्रिस्मसको शुभकामना दिएका थिए ।
गत १६ मार्चमा स्पेसएक्स क्याप्सुल एक नयाँ सदस्य लिएर आईएसएस आइपुग्यो । बुच र सुनीताका लागि त्यो एउटा उल्लेख्य क्षण हो, जसले उनीहरूलाई घर फर्काउँदै थियो ।
उक्त उत्साहलाई आईएसएसमै रहने डन पेटिटले भिडिओमा कैद गरेका छन् । त्यहाँको झ्यालबाट उक्त क्याप्सुल आउँदै गरेको र जोडिएको पनि देखिन्छ ।




प्रतिक्रिया