काठमाण्डु— स्पेनको सेभिलामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिलाई सहभागी गराएको घटनाको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विशेष समिति गठन गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसहित ६ सदस्यीय टोली गठित गरिएको हो। समितिको नेतृत्व सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन गएका थिए ।
स्पेन गएका अन्य ५५ जना नेपालीहरू हालसम्म नफर्किएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा गम्भीर आरोप लगाएकी थिइन् । आरोपसँगै उनले ती व्यक्तिहरूको नामावली र सम्बन्धित कागजातहरू समेत सार्वजनिक गरेकी थिइन्।
गृहमन्त्री रमेश लेखकले सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई तत्काल अनुसन्धान गर्न निर्देशन दिएका थिए।




प्रतिक्रिया