काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा जारी अवरोध अन्त्यका लागि उपाय खोज्ने बताएका छन् ।
स्पेनमा अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी भएर बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले विमानस्थलमा पत्रकारहरुसँग् कुरा गर्दै सर्वोच्चमा जारी एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘म जानुभन्दा पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’
नेपाल बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।
साथै उनले संसदको गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताए । ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा अब सोच्छु,’ उनले भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’




प्रतिक्रिया