काठमाण्डु – सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक सभामुखको कार्यकक्षमा दिउँसो १२ बजे बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै तीनै पार्टीका प्रमुख सचेतक वा सचेतक सहभागी हुनेछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरी समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। एमालेले प्रतिनिधिसभाको साउन १० गतेको बैठकमा उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको थियो।
एमालेको अवरोधपछि साउन १० गतेको बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साउन १५ गते, सोमबार बस्ने जानकारी दिएका थिए। साउन १५ गते बस्दै नबसी अर्को दिन (साउन १६ गते, मंगलबार)का लागि बैठक सारियो। मंगलबार पनि बैठक बसेन। सूचना टाँस गरेर नै प्रतिनिधिसभा बैठक १ हप्ताका लागि सारिएको थियो।
यसबीचमा सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए। सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए।




प्रतिक्रिया