काठमाण्डु – प्रतिनिधिसभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ता हुनेछ ।
मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभाको माघ ५ गते ११ बजेको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यस लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गरिनेछ ।
प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन्। सबै प्रस्तावमा सोही प्रक्रिया चल्नेछ। छलफल सकिएपछि निर्वाचनको प्रक्रिया अपनाइनेछ। एक मात्र प्रस्ताव परेको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ।
मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।
सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा (एमाले)ले उम्मेदवार बनाउने निश्चित छ। नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागि सकेको छैन।




प्रतिक्रिया