काठमाण्डु – विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न माग गरेका छन् ।
९ पार्टीले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको र भ्रमण क्रममा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको भन्दै उनीहरुले प्रधानमन्त्री देउवाको भ्रमण रद्द गर्न माग गरेका हुन् ।
यता नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेजमा हस्ताक्षर गर्न अमेरिकाले प्रधानमन्त्री देउवालाई दवाव दिएको छ ।
‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्बाध प्रयोग गर्ने योजनामा आधारित छ । हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न माग गरिएको छ । नेपालको संसदद्वारा एमसीसी पारित गरिएको घोषणा भएपछि नेपालमाथि अमेरिकाको हस्तक्षेप एकाएक बढेको ९ पार्टीको ठहर छ ।
विज्ञप्ति निकाल्ने दलहरुमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा (बहुमत), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषिराम कट्टेलको नेकपा, (माओवादी समाजवादी), नेकपा मसाल, जन समाजवादी मञ्च रहेका छन् ।




प्रतिक्रिया