काठमाण्डु – चेक फिर्ता प्रकरणमा छानविन गर्न गठित समितिले एसएसपी अशोक सिंहलाई कारवाही गर्न सिफारिस गरेको छ ।
अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमारलाल कर्ण नेतृत्वको समितिले एसएसपी सिंहले आचरण विपरित त्रुटिपूर्ण काम गरेको ठहरसहितको निष्कर्ष निकाल्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हाे ।
चेक फिर्ता प्रकरणमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए । उनले छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएको समेत बताए ।
असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए ।
त्यहाँ आफुलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले उजुरी गरेका थिए । असोज २५ मा काठमाण्डु प्रहरीले सुभाष भेटवालको साथबाट २ करोड २९ लाखको बैंक अफ काठमाण्डुको चेक बरामद गरेको थियो ।
सिंहले ‘जुवाडे’बाट बरामद गरेकाे उक्त २ करोड २९ लाखको चेक कानुनी प्रक्रियामा नलगेर करिब ३ महिना आफुसँगै राखेर भेटवाललाई नै फिर्ता दिएका थिए ।




प्रतिक्रिया