काठमाडौं – एसएसपी दिपक थापाले उपत्यका भित्रको अपराध र अपराधिक प्रवृतिलाई निरुत्साहित गर्ने आफ्नो पहिलो कार्यभार भएको बताएका छन् । महानगरीय अपराध महाशाखाका प्रमुखको मंगलवार कार्यभार सम्हालेका थापाले उपत्यकाभित्रको अपराध नियन्त्रण गरेर उपत्यकालाई सुरक्षित बनाउने काममा आफ्नो ध्यान केन्द्रित गर्ने बताए ।
प्रहरी मुख्यालयको सिफारीसमा एसएसपी थापालाई गत साता अपराध महाशाखाको प्रमुखका रुपमा जिम्मेवारी दिएको थियो । एसएसपी थापाले अपराध महाशाखाको जिम्मेवारी चुनौतीपूर्ण रहेको भन्दै त्यसलाई अवसरका रुपमा परिणत गर्ने प्रतिवद्धता समेत जनाए ।
थापाले भने ‘अपराध महाशाखाको अहिलेसम्मको साखलाई जोगाउने गरी काम गर्ने मेरो प्रयत्न हुन्छ । प्रचलित ऐन र कानुनभित्र रहेर कानुनी कठोरता र व्यवहारमा नरमता लागु गर्ने र उपत्यकालाई सुरक्षित गर्ने काममा म अहोरात्र खटिनेछु । ’
अपराध महाशाखाको कार्यभार सम्हाल्नुअघि एसएसपी थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुख थिए । महाशाखामा रहेर नेपाल प्रहरीलाई बेरुजु फर्छ्यौटमा दुई बर्ष पुरस्कार दिलाउन सफल भएका एसएसपी थापा आफै पनि दुईवटै आर्थिक बर्षमा पुरस्कृत भएका थिए ।
अपराध अनुसन्धानमा दख्खल राख्ने एसएसपी थापा डीएसपी हुंदा खोटाङ, महाराजगन्ज बृत्त, इलाका प्रहरी कार्यालय बुटवल र एसपीको रुपमा जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड सम्हालेका थिए ।




प्रतिक्रिया