काठमाण्डु – पाटनबाट ३७ वर्षअघि हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को प्राचीन मूर्ति नेपालले पाएको छ ।
अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले सो हराएको मूर्ति अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिङ्गाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट हराएको उक्त प्राचिन मूर्ति अमेरिकाको टेक्सास राज्य डल्लास म्युजियम अफ आर्टमा गएको वर्ष मंसिरमा भेटिएको थियो । नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।
रकम अभावका कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजाको मूर्तिलाई लागेजति खर्च ब्यहोरेर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।




प्रतिक्रिया