साना लगानीकर्तालाई आयकरको दायरमा नल्याउने तर ठुलालाई नछोड्ने अर्थमन्त्रीको दावी

साना लगानीकर्तालाई आयकरको दायरमा नल्याउने तर ठुलालाई नछोड्ने अर्थमन्त्रीको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारमा लगानी गरेका कुनै पनि लगानीकर्तालाई आयकरको दायरमा ल्याउने समाचारमा सत्यता नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले नियमति कारोबार गर्नेलाई कर लाग्ने भएपनि सामान्य लगानीकर्तालाई भने यसले नछुने दावी गरे ।

उनले कति कारोबार गर्नेलाई करको दायरमा ल्याउन लागिएको भन्ने विषयमा परिभाषा हुने बताए । बैंकमा पैसा राख्नुको सट्टा शेयर बजारमा लगानी गरेर बढी फाइदा हुन्छ कि भनेर लगानी गर्नेहरु करको दायरमा आउंदैनन् । तर, ठुलो मात्रामा लगानी गरेर बजार नै तलमाथि गर्नेहरुलाई भने कर लाग्छ । अर्थमन्त्री महतले भने ।

उनले सेयर बजारमा चलखेल गर्नेहरुले ५० लाख लगानीकर्ता डुब्ने भएको भन्दै हल्ला गरिएकोमा आपत्ति जनाए । मन्त्री महतले सेयर बजारबाट करोडौं लगानी गर्नेहरुले भने कर तिर्नपर्ने बताए ।

मन्त्री महतले ल्याएको बजेटपछि सेयर बजारमा पहिरो गएको छ । बजेटको दोस्रो दिन बजारमा ५२ अंकले घटेको थियो भने बिहिवार पनि बजार घट्ने क्रम जारी छ ।

आर्थिक विधेयक २०८० को बुंदा नम्बर २९ मा उल्लेख भएको विषयले बजार घटेको आम लगानीकर्ताहरुको गुनासो छ । तर, अर्थमन्त्री महतले भने यो नीतिबाट लगानीकर्ता डराउन आवश्यक नभएको भन्दै दोहोरो कर तिर्न नपर्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।

आर्थिक विद्येयकमा भनिएको छ, ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घर जग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक २०७६\७७ देखि २०७८\७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजिम लाग्ने करको ५०% रकम २०८० साल चैत मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने छ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षहरुको कर, कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’