काठमाण्डु – विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्य हाल चर्चाको केन्द्र बनेको छ ।
यो जलडमरूमध्य संसारकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग मानिन्छ र यहाँ असुरक्षा बढेमा विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्न सक्छ । किनभने विश्वको करिब २० प्रतिशत तेल सामान्यतया यही मार्गबाट गुज्रन्छ ।
यो जलडमरूमध्य भौगोलिक रूपमा अत्यन्त संवेदनशील स्थानमा छ । यसको उत्तरतर्फ इरान छ भने दक्षिणतर्फ ओमन र युनाइटेड अबर इमिरेट्स (युएई) रहेको छ ।
हालैका दिनमा यस क्षेत्रमाथि भएको एकपछि अर्को आक्रमणले विश्वकै ध्यान तानलेको छ भने त्यहाँ बढेको असुरक्षाले विश्भरको तेल बजार खलबलिएको छ ।
बेलायतको म्यारिटाइम ट्रेड अपरेशन्सका अनुसार हालै इराकको तट नजिक दुई वटा तेल ट्यांकरमाथि अज्ञात प्रक्षेपास्त्रबाट आक्रमण गरिएको छ ।
त्यसबाहेक संयुक्त अरब इमिरेट्स (यूएई) को तट नजिक एक कन्टेनर जहाजमाथि पनि आक्रमण भएको छ ।
यहाँ भएको आक्रमणपछि इरानले यो जलडमरूमध्यबाट पार हुन खोज्ने कुनै पनि जहाजलाई ‘आगोको हवाला’ गरिने चेतावनी दिएको छ ।
के हो होर्मुज जलडमरूमध्य र कहाँ पर्छ ?
होर्मुज जलडमरूमध्य विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो । विशेषगरी कच्चा तेलको आपूर्तिका लागि यो अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण मार्ग मानिन्छ । यसको प्रवेश र निकास क्षेत्रमा यसको चौडाइ करिब ५० किलोमिटर छ भने सबैभन्दा साँघुरो भागमा करिब ३३ किलोमिटर मात्र चौडा छ ।
यो जलमार्गले फारसको खाडीलाई अरब सागरसँग जोड्छ । यो यति गहिरो छ कि विश्वका सबैभन्दा ठूला तेल ट्यांकरहरू पनि सजिलै यहाँबाट गुज्रन सक्छन् ।
अमेरिकाको एनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेशन (ईआईए) का अनुसार २०२५ मा दैनिक करिब २ करोड बैरल तेल होर्मुज जलडमरूमध्यबाट पार भएको थियो । यो वार्षिक रूपमा करिब ६०० अर्ब डलर बराबरको ऊर्जा व्यापार हो ।
यो तेल केवल इरानको मात्र होइन, खाडीका अन्य देशहरू जस्तै इराक। कुवेत, कतार। साउदी अरब र यूएईबाट पनि यही मार्ग हुँदै विश्वभर निर्यात हुन्छ ।
यदि जलडमरूमध्य बन्द भयो भने के हुन्छ ?
सामान्यतया प्रत्येक महिना करिब ३,००० जहाज यो मार्गबाट गुज्रन्छन् ।
विश्लेषकहरूका अनुसार यदि त्यहाँबाट जहाजहरू सुरक्षित रूपमा गुज्रन सक्ने अवस्था रहेन भने तेलको मूल्य तीव्र रूपमा बढ्नुका साथै तेल ढुवानी लागत पनि बढ्नेछ ।
साथै जहाजको बीमा महँगो वा दुर्लभ हुन सक्छ । ऊर्जा बजार विश्लेषक आर्ने लोहम्यान रासमुसेनका अनुसार व्यवहारमा यस्तो अवस्थामा यो मार्ग लगभग बन्द जस्तै हुन्छ किनकि जहाजहरू त्यहाँबाट पार हुन डराउँछन् ।
यदि यस मार्गबाट तेल र ग्यासको आपूर्ति रोकियो भने वैश्विक ऊर्जा बजारमा ठूलो असर पर्न सक्छ । इरानमाथि संघर्ष सुरु भएपछि विश्व बजारमा तेलको मूल्य करिब १२० डलर प्रति बैरलसम्म पुगेको थियो ।
खाडी देशहरू साउदी अरब, कुवेत, कतार र यूएईको अर्थतन्त्र ऊर्जा निर्यातमा धेरै निर्भर छ । मार्ग बन्द भए यी देशहरूलाई पनि ठूलो आर्थिक क्षति हुन्छ ।
सन् २०२२ मा होर्मुजबाट बाहिरिने करिब ८२ प्रतिशत तेल एशियाली देशहरूमा गइरहेको थियो । इरानले बेच्ने तेलको करिब ९० प्रतिशत चीनले खरिद गर्छ । तेल महँगो भए उत्पादन लागत बढ्छ र यसले विश्वभर सामानको मूल्य बढ्न सक्छ ।
के इरानले यो मार्ग बन्द गर्न सक्छ ?
अमेरिकी सेनाका अनुसार उसले जलडमरूमध्यमा इरानका १६ वटा माइन बिछ्याउने जहाज नष्ट गरिसकेको छ ।यदि इरानी नौसेनाले ठूलो स्तरमा आक्रमण ग¥यो भने उनीहरू पनि अमेरिकी हवाई आक्रमणका सजिला लक्ष्य बन्न सक्छन् ।
१९८० को दशकमा इरान–इराक युद्धका क्रममा ‘ट्यांकर युद्ध’ भएको थियो । त्यस बेला दुवै देशले तेल ढुवानी गर्ने जहाजहरूमा आक्रमण गरेका थिए ।
पछि अमेरिकाले खाडी क्षेत्रमा तेल ट्यांकरहरूलाई सैन्य सुरक्षा दिन थालेको थियो।
होर्मुजमा निर्भरता घटाउन केही वैकल्पिक व्यवस्था गरिएको छ । तर यी वैकल्पिक मार्गहरू प्रयोग गर्दा पनि दैनिक ८०–१०० लाख बैरल तेलको आपूर्ति घट्न सक्छ ।
सैन्य विश्लेषकहरूका अनुसार इरानले यो मार्ग बन्द गर्न विभिन्न रणनीति अपनाउन सक्छ । समुद्रमा बारूदी सुरुङ बिछ्याउने, तीव्रगति आक्रमणकारी डुङ्गा प्रयोग गर्ने वा जहाजहरूलाई लक्ष्य गरेर मिसाइल आक्रमण गर्ने जस्ता उपाय सम्भावित मानिन्छन् ।
इरानको नियमित नौसेना र इस्लामिक रिभोल्युसनरी गाड्र्सको नौसेनाले विदेशी युद्धपोत तथा व्यावसायिक जहाजलाई निशाना बनाउन सक्ने चेतावनी पनि दिइएको छ ।
तर यस्तो कदमले ठूलो अन्तर्राष्ट्रिय सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ । विशेष गरी अमेरिकाले यसअघि पनि खाडी क्षेत्रमा सैन्य शक्ति प्रयोग गरेर समुद्री यातायात पुनः सञ्चालन गराएको इतिहास छ ।
सन् १९८० को दशकमा भएको इरान–इराक युद्धको अन्तिम चरणमा तेल ट्यांकरहरूलाई लक्षित आक्रमण भएपछि अमेरिकी नौसेनाले कुवेती जहाजहरूलाई सुरक्षा दिँदै खाडीमा ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो ।
यद्यपि खाडीका तेल उत्पादक देशहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक मार्ग विकास गर्ने प्रयास पनि गरेका छन् । साउदी अरेबियाले करिब १,२०० किलोमिटर लामो पाइपलाइन सञ्चालनमा ल्याएको छ, जसले दैनिक ५० लाख बैरल तेल ढुवानी गर्न सक्छ । त्यस्तै युनाइटेड अरब इमिरेट्सले आफ्नो तेल क्षेत्रलाई ओमानको खाडीमा रहेको बन्दरगाह या फुजैरासँग जोड्ने पाइपलाइन निर्माण गरेको छ ।
तर विशेषज्ञहरूका अनुसार यी वैकल्पिक मार्गहरूले पूर्ण रूपमा होर्मुज जलडमरूमध्यको स्थान लिन सक्दैनन् । यदि यो मार्ग पूर्ण रूपमा बन्द भयो भने विश्व बजारमा दैनिक ८ देखि १० मिलियन बैरल तेलको आपूर्ति कमी हुन सक्छ । यस्तो अवस्थामा ऊर्जा संकट गहिरिने र विश्व अर्थतन्त्रमा ठूलो झट्का पुग्ने सम्भावना रहेको विश्लेषकहरूले चेतावनी दिएका छन् ।




प्रतिक्रिया