काठमाण्डु – मध्यपूर्वको अत्यन्तै संवेदनशील तथा प्रमुख जलमार्ग स्ट्रेट अफ मलाकामा अहिले विश्वको ध्यान तानएको छ ।
स्ट्रेट अफ होर्मुजमा लामो अवरोधपछि विश्वव्यापारको अर्को प्रमुख जलमार्गप्रति विश्वव्यापी चासो बढ्न थालेको छ।
दक्षिणपूर्वी एशियामा रहेको स्ट्रेट अफ मलाकाप्रति आकर्षण बढेको देखाउने पछिल्लो कडी संयुक्त राज्य अमेरिकाले राखेको एउटा प्रस्ताव पनि हो।
गत सोमवार रक्षा सम्झौतापछि अमेरिकाले इन्डोनेशियाको आकाशमा निर्बाध रूपमा सैन्य उडानहरू गर्न अनुमति दिनुपर्ने प्रस्ताव राखेको थियो । इन्डोनेशियाको विदेश मन्त्रालयले त्यसबारे निर्णय हुन अझै बाँकी रहेको जनाएको छ । तर विज्ञहरूले त्यस्तो कदमको भूराजनीतिक प्रभाव रहने प्रतिक्रिया दिएका छन् ।
के हो स्ट्रेट अफ मलाका ?
स्ट्रेट अफ मलाका पनि स्ट्रेट अफ होर्मुज जस्तै एउटा जलमार्ग हो । मध्यपूर्व, युरोप र पूर्वी एशियाबीचको व्यापारका लागि यो जलमार्ग असाध्यै महत्त्वपूर्ण मानिन्छ ।
स्ट्रेट अफ मलाका हिन्द महासागर र प्रशान्त महासागरलाई जोड्ने सर्वाधिक छोटो र सबैभन्दा प्रभावकारी समुद्री मार्ग हो, जसले गर्दा यो जलमार्ग मध्यपूर्व, युरोप र पूर्वी एशियाबीचको व्यापारका लागि महत्त्वपूर्ण हो । यो सोझै साउथ चाइना सीसँग जोडिन्छ, जहाँबाट विश्वको एकतिहाइ व्यापार हुने गर्छ।
सिङ्गापुरनजिकै फिलिप्स च्यानलमा रहेको उक्त जलमार्गको सबैभन्दा साँघुरो बिन्दु करिब २.८ किलोमिटर फराकिलो छ।
एक अध्धयनअनुसार सन् २०२५ को पहिलो छ महिनामा स्ट्रेट अफ मलाकामार्फत् २ करोड ३२ लाख ब्यारल तेल ढुवानी भएको थियो। त्यो समुद्री मार्ग हुँदै गरिने तेल आपूर्तिको झन्डै २९ प्रतिशत हो।
साथै सो अवधिमा यो जलमार्गले दैनिक ९.२ अर्ब क्युबिक फिट तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को आपूर्ति धानेको थियो। यसका साथै यो जलमार्ग विद्युतीय उपकरण, उपभोग्य र औद्योगिक वस्तु, औद्योगिक औजार र कारहरू ल्याउन प्रमुख रूपमा प्रयोग गरिन्छ ।
विश्वको २५ प्रतिशत कार त्यही मार्गबाट आउँछ। अन्न र भटमासजस्ता ठूलो परिमाणका ठोस कार्गोहरू पनि त्यहीबाट आउँछन्।
भूगोल, ऊर्जा निर्भरता, वस्तुको परिमाण र प्रकारलाई जोड्ने हो भने स्ट्रेट अफ मलाका, स्ट्रेट अफ होर्मुजभन्दा फरक छ।
स्ट्रेट अफ होर्मुज विश्वव्यापी व्यापारका लागि पनि महत्त्वपूर्ण छ तर यो स्ट्रेट अफ मलाका जतिको उल्लेखनीय ट्रान्सशिपमेन्ट हब भने होइन। यसको भूमिका इन्धनभन्दा बृहत् छ र यसले कैयौँ प्रकारका वस्तुहरूलाई समेट्छ।
जानकारहरूले स्ट्रेट अफ मलाकालाई विश्व अर्थतन्त्रको प्रमुख धमनीको संज्ञा पनि दिएका छन् । तर यहाँको निरन्तरको चिन्ता समुद्री डकैती हो। सन् २०२५ मा मलाका र सिङ्गापुरमा १०८ वटा समुद्री डकैतीका घटना भएका थिए। यो सङ्ख्या सन् २००७ यताकै उच्च रहेको थियो ।
विज्ञहरूले स्ट्रेट अफ मलाकाको महत्त्व आर्थिक कारणले मात्र नभई यसको बढ्दो भूराजनीतिक संवेदनशीलताका कारण पनि रहेको ताउँछन् ।
चीन र अमेरिका वा भारतबीच समुद्री प्रभुत्वलाई लिएर उक्त क्षेत्रमा बढ्ने तनावले उक्त जलमार्गमार्फत् हुने आवतजावतलाई गम्भीर रूपमा अवरोध पुर्याउन सक्ने उनीहरूको भनाइ छ । यसका साथै इन्डोनेशियाको हवाई क्षेत्रमा अमेरिकी सैनिकलाईप्राप्त बढ्दो पहुँचको सम्भावनाले पनि दीर्घकालीन प्रभाव निम्त्याउन सक्छ।
स्ट्रेट अफ मलाकाको अहिलेको सुरक्षा संरचना प्रमुख शक्तिहरूबीच द्वन्द्व व्यवस्थापनका लागि नबनाइएको देखाएको छ। डकैती, तस्करी, समुद्री अपराधजस्ता गैरपरम्परागत जोखिमहरूको सम्बोधनका लागि यो बनाइएको छ। यो ठूला शक्तिहरूबीचको प्रतिस्पर्धा व्यवस्थापनका लागि बनाइएको छैन।
चीनको झन्डै तीनचौथाइ इन्धन आपूर्ति र झन्डै ६० प्रतिशत समुद्री व्यापार उक्त जलमार्ग र त्योसँग जोडिएको साउथ चाइना सीबाट हुने गरेको ईआईए र सीएसआईएस चाइना पावर प्रोजेक्टको आँकडामा उल्लेख छ।
तर चीन मात्रै होइन। जापान र दक्षिण कोरिया पनि ऊर्जाका लागि त्यो जलमार्गमा निर्भर छन् र उनीहरूको ९० प्रतिशत तेल आयात त्यहीँबाट हुने गर्छ ।
सिङ्गापुर र स्ट्रेट अफ मलाकाका लागि वस्तुहरूको आपूर्ति मात्र नभई व्यावसायिक शिपिङलाई इन्धन भर्ने पूर्वाधारहरूका कारणले पनि यसको महत्त्व छ। सिङ्गापुर विश्वकै सबैभन्दा ठूलो पानीजहाजहरूमा इन्धन भर्ने हब हो।




प्रतिक्रिया