जनताको लागि जुनसुकै भूमिका निर्वाह गर्न तयार छौंः सुवास नेम्वाङ


काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन् ।

इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौंस्थित आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गरे

‘जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ; जनताका अगाडि धेरै विषय र प्रश्न थिए,’ संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, ‘निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ ।’ लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरुप आफ्नो दल अघि बढ्ने बताए ।

‘मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठीक दिशातर्फ अघि बढ्छ,’ निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले भने, ‘संविधान र नयाँ जनादेशको सन्देशअनुरुप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ।’ मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्वसभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement