काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीले दिएको सुझाब अनुसार नै राष्ट्रियसभामा सरकारले मनोनयन गर्ने बताएका छन् ।
उनले सरकारले सिफारिस गर्ने र राट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश र जनता ठूलो भएकाले पार्टीको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्ने बताएका हुन् ।
बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता नेम्वाङले संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने उल्लेख भएअनुसार पार्टीको सुझाबलाई समेत मानेर अगाडि बढ्ने विश्वास आफुले गरेको बताए ।
‘मैले एउटै कुरा भन्ने गरेको छु, व्यक्तिभन्दा पार्टी ठूलो हो पार्टीभन्दा देश र जनता ठूलो हो । फेरि हामीले यसो भनिरहँदा ,आफ्नो काम गरिरहँदा सबैकुरा संविधान बमोजिम हुन्छ भन्ने हामीले विश्वास गर्छौं’, उनले भने ‘संविधानले राष्ट्रिय सभामा मनोनयनको यो पक्षलाई चाँही सरकारको सिफारिसमा छोडेको छ । त्यसैले सचिवालयले अनुरोध गरेको भनेर लेखेको छ । बाहिर चर्चामा आएको छ । प्रधानमन्त्रीले पनि साथीभाइहरुको अनुरोधलाई मैले हेरिरहेको छु, विचार गरिरहेको छु भन्नुभएको छ ।’
उनले अर्थमन्त्रीको नियुक्ति संघीय संसदको सदस्य नभए पनि ६ महिनाको लागि हुन सक्ने संविधानको व्यवस्था अनुसार भइसकेको बताए ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्त गर्ने विचार व्यक्त गरेको भए पनि पार्टी सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई लैजान अनुरोध गरेकाले प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएको उनले बताए ।
उनले प्रधानमन्त्री ओली अहिले हस्पिटलमा भएकाले उनी पूर्णरुपमा स्वस्थ भएपछि छलफल गरेर सरकार निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरे ।




प्रतिक्रिया