पर्यटन बोर्डका तत्कालीन सीईओ भ्रष्टाचारी ठहर, सात वर्ष कैद फैसला


काठमाडौं– विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास निरौलालाई भ्रष्टाचारी ठहर गर्दै सात वर्ष कैद फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासको बिहीबारको संयुक्त इजलाशले निरौलालाई सात वर्ष कैद, ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई ५४ लाख ५९ हजार सात सय बिगो तिराउने फैसला गरेको हो।

यसैगरी, अदालतले बोर्डको लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई पनि कैद तथा जरिवानाको फैसला सुनाएको छ।

दासलाई ६ वर्ष कैद, ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई २४ लाख ३७ हजार चार सय १५ बिगो तिराउने तथा खनाललाई एक लाख ५४ हजार दुई सय २४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिए।

एक अर्ब ३९ करोड ५० लाख ५३ हजार सात सय ५० भ्रष्टाचारको दाबी गर्दै अख्तियारले २० चैत २०७१ मा गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो। अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई भने सफाइ दिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement