बुधबारबाट उपनिर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइन्छ ?

बुधबारबाट उपनिर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १४ मंसिरमा हुने उपनिर्वाचनको मौन अबधि सुरु भएको छ । बुधबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो । बुधबार साँझसम्म निर्वाचनका लागि सबै तयारी सकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

मौन अवधिमा निर्वाचनसम्बन्धी कुनै पनि प्रकारको प्रचारप्रसार गर्नरगराउन तथा वेबसाइट र सामाजिक सञ्जाल प्रयोग गरी भोट माग्न नपाइने प्रावधान छ ।

मौन अवधिमा सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न गराउन, वेबसाइट, ट्विटर, फेसबुक, भाइबर, एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरी मत माग्न निधेष गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मीलगायत सम्बन्धित जिल्ला तथा मतदान केन्द्रमा पुगिसकेका छन् ।

निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीबाहेक मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन सय ५४ कर्मचारी खटाइएको छ ।

मतदान केन्द्रमा दुई हजार ६ सय ८४ कर्मचारी र दुई हजार १६ स्वयंसेवक गरी जम्मा पाँच हजार ५४ जना खटिएका छन् । उपनिर्वाचन हुने एक सय ५५ वडामा घरदैलो मतदाता शिक्षा कार्य सञ्चालन गर्न प्रत्येक वडामा दुईजनाका दरले तीन सय १० मतदाता शिक्षा कार्यकर्ता खटिएका आयोगले जनाएको छ ।

कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ ।

सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।