पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक मन्त्रीको स्वागत सत्कारमै हप्तामै लाखौँ रुपैयाँ खर्च भइरहेको बताएका छन् । शनिबार पोखरामा होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशनमा बोल्दै मन्त्री किरातीले खादा माला नलगाउन उद्घोष गरे पनि भेट्न आउँदा ल्याइदिने गरेकासँग सामाजिक अभियान सञ्चालन गरेको बताए ।
‘जबरजस्ती माला खादा बोकेर आउने साथीहरूका लागि मैले अभियान सञ्चालन गरे । माला खादा किन्ने पैसाले दुर्गम गाउँको शिक्षामा लगेर सहयोग गर्न अभियान सञ्चालन गरे । ७ दिनमा ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भयो,’ मन्त्री किरातीले भने, ‘तपाईंहरू भन्नुस् । एक जना मन्त्रीले ७ दिनमा ६ लाखको खादा लगाउँछन् भने केन्द्र सरकारका २५ मन्त्रीले एक दिनमा कति लाखको खादा माला लगाउँछन् ?’
संघ, प्रदेश र स्थानीय तहका ३६ हजार १ सय ५५ जना जनप्रतिनिधिहरूले एक दिनमै करोडौँको खादा माला लगाउने गरेको उनको भनाइ छ । संवैधानिक, कानुनी र सुरक्षा फोर्सका मान्छेले सम्मान थाप्दै गए दैनिक करोडौँ अर्बौँ रुपैयाँ खर्च हुने उल्लेख गरे ।
पोखराको सेती खोँचमा यति एयरलाइन्सको प्लेन दुर्घटनापछि खादा माला लगाउन छोडेर अभियान सञ्चालन गरेको उनको भनाइ छ । ‘मन्त्रीको पदभार ग्रहण गरेपछि पोखराको सेती खोँचमा स्वदेशी तथा विदेशी गरी ७२ जनाले ज्यान गुमाए । त्यहीँ मन्त्रालयको तालुकदार मन्त्री चाहिँ माला खादा लगाउनुहुँदैन भनेर म आफूले माला खादा लगाइनँ ।’




प्रतिक्रिया