मन्त्री किरातीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने तयारी

मन्त्री किरातीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धन दलहरुबीच जनमत पार्टीलाई सरकारमा ल्याउने सहमति भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा समेट्ने सहमती जुटेको हो ।

आइतबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए । आइतबार भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राउतसँग आग्रह गरे । त्यस्तै आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा सहभागी गराउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका थिए ।

पछिल्लो समय आफूसँग रुष्ट बनेका राउतलाई फकाउन प्रधानमन्त्री प्रचण्ड लागिरहेका छन् । यता जनमतले पनि चाहेको मन्त्रालय पाए सरकारमा सहभागी जानकारी दिएको छ ।

जसअनुसार प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउन माओवादीको कुनै एक मन्त्री फिर्ता बोलाउने तयारी गरेका छन्। जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री सुदन किरातीलाई फिर्ता हुन सक्ने आँकलन गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र मन्त्री किरातीबीचको सम्बन्ध चिसीएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि मन्त्री किरातीले दिएको अभिव्यक्तिपछि उनीसँग किरातीको सम्बन्ध चिसिएको हो। त्यसकारण मन्त्री किरातीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको रणनीति हुनसक्ने ठहर गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो । पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो ।

प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने आश्वासन दिएका थिए । अन्तिममा अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए । त्यसबेला सरकारबाट बाहिरीए पनि जनमतले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । तर, आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिदैँ प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने जनमतले बताएको थियो ।

यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनुपर्ने छ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड जनमतलाई सरकारमा ल्याउन चाहान्छन् ।