काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का नेता सुदन किराँतीले माओवादी पार्टी रूपान्तरणका लागि पाँच बुँदे लिखित प्रतिबद्धताको माग गरेका छन्।
किराँतीले यी मागहरू पूरा नभए पार्टी छाडन सक्ने धम्की दिएका छन् । उनले पार्टी संरचना, अपूर्ण एकता अन्त्य, पदाधिकारी परिवर्तन, केन्द्रीय राजनीतिक समिति गठन र तेस्रो पुस्तालाई जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन्। किराँतीले लिखित प्रतिबद्धता बिना पार्टीको आगामी यात्रामा सहभागी नहुने संकेत गरेका छन्।
नेता किराँतीले आफ्नो फेसबुक पोस्टमार्फत यी विषयमा सहमति भए मात्र आफू यात्रामा सँगै हिँड्न सक्ने स्पष्ट पारेका छन्।
उनले माओवादी रूपान्तरणको विकल्पका रूपमा पाँच बुँदा प्रस्तुत गरेका छन् ।
पार्टीको विधान संशोधन गरेर नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँड गर्नुपर्ने उनको माग छ। यसमा उनले आवश्यक पर्दा संरक्षकलाई पार्टी विघटन गरी अधिवेशनको घोषणासम्म गर्ने अधिकार दिनुपर्ने उल्लेख गरेका छन्।
यस्तै पार्टी, आन्दोलन र जेनजी विद्रोहको भावना विपरीत भ्रष्टाचार सम्बन्धी मुद्दाको छानबिन भइरहेको बेला व्यक्तिका लागि गर्न लागिएको अपूर्ण र अपवित्र पार्टी एकता तत्काल रोक्न पनि उनको माग छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीलाई निर्देशक कमिटीमा बदल्नुपर्ने प्रस्ताव उनले गरेका छन्।
यसैगरी स्थायी समितिदेखि अग्रज नेताहरूको एक केन्द्रीय राजनीतिक समिति बनाउनुपर्ने र यस समितिलाई राष्ट्रिय महत्त्वको निर्णय र सांसद छनोट गर्ने लगायतको अधिकार विधानमा व्यवस्था गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ ।
किराँतीले तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिनुपर्ने र यो पुस्ताले पुलको भूमिका खेल्दै पुरानो पुस्ताको अनुभव र नयाँ जेनजी पुस्ताको ऊर्जालाई जोडेर पार्टीलाई गति दिन वा अप्ठ्यारोमा परेको पार्टीलाई उद्धार गर्न सक्ने प्रस्ताव गरेका छन् ।
यी पाँचवटै विषय माओवादी पार्टी रूपान्तरणको विकल्प भएको उनको ठहर छ ।





प्रतिक्रिया