सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण घट्दो


कैलाली – सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले तीनजनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेङ्गुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो । प्रदेशभर एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

कैलालीमा चार सय ३०, कञ्चनपुरमा दुई सय १४, दार्चुलामा तीन सय ३२, डोटीमा ८४, बैतडीमा ७३, डडेल्धुरा र अछाममा ४०-४०, बझाङमा ३३ र बाजुरामा २७ जनामा सङ्क्रमण देखिएको जोशीले बताए।

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय भने घट्दै गएको छ । गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको सङ्ख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए । उनले भने, “ वर्षातको समयमा दैनिक रुपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो, सङ्क्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो । हाल भने त्यो जोखिम भने घटेको छ ।”

वर्षातमा दैनिक रुपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement