सुदूरपश्चिमलाई प्रचण्डले दिएको धोका : राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा षड्यन्त्र !


काठमाण्डु – गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कैलालीको गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्ने निर्णय गर्‍यो । माघ १ गते हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुदूरपश्चिम प्रदेशको भ्रमणअघि मन्त्रिपरिषद्ले विश्वविद्यालय स्थापनाको निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू, पूर्व सांसदहरू र सरोकारलाई बालुवाटारमै पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । गेटामा धमाधम भौतिक संरचना निर्माण भइरहेको बेला सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेपछि सुदूरपश्चिमवासी हर्षित भएका थिए ।

मन्त्रिपरिषद्ले निर्णय गरेको भोलिपल्ट सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डले गेटा क्षेत्रको अवलोकन गर्दै विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका थिए । विश्वविद्यालय विधेयकको मस्यौदा बनाएर संसदमा लैजाने आश्वासन पनि प्रचण्डले दिएका थिए ।

प्रचण्डले सुदूरपश्चिम आएर भनेका थिए, ‘म पहिला पनि यो मेडिकल कलेज स्थापना गर्ने प्रक्रियामा प्रत्यक्ष रूपमा जोडिएको थिएँ । बीचमा यसको बेस बन्ने क्रममा पनि म अनुगमनमा आएको थिएँ । अहिले फेरि म आउँदा चाहिँ खुशीको कुरा छ, अब यहाँ मेडिकल कलेज मात्र होइन, हिजो क्याबिनेट बैठकले हामी बसेर सरकारले देशकै पहिलो सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर निर्णय गरेका छौं । अब यसको प्रक्रिया अगाडि बढिसकेको छ । मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गरें । त्यसपछि पनि सबैभन्दा बढी मैले सुदूरपश्चिमकै अवलोकनहरू गरेको छु । गेटाको यो विश्वविद्यालय सुदूरपश्चिमको मात्र होइन, देशकै गौरव हो ।’

प्रधानमन्त्री प्रचण्डको घोषणा र मन्त्रिपरिषद्को निर्णयपछि ढुक्क भएर बसेका सुदूरपश्चिमवासी त्यतिबेला झस्किए, जतिबेला सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्यायो । गेटामा विश्वविद्यालय बनाउने भनिएकोमा सरकारले बजेटमार्फत प्रतिष्ठान बनाउने भन्यो । ६०० शय्याको अस्पताल सञ्चालनार्थ भौतिक संरचना निर्माण भइसक्दा पनि बजेटमा १०० शय्याको अस्पताल सञ्चालन गर्ने भनियो ।

यसरी वर्तमान सरकार र प्रधानमन्त्री प्रचण्ड स्वयंले सुदूरपश्चिमलाई धोका दिएका छन् । वर्तमान सरकारको बजेट सुनेपछि सुदूरपश्चिम तरङ्गित र आन्दोलित बनेको छ । गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने अभियानका अभियन्ता तथा पूर्व सांसद डा. दीपकप्रकाश भट्टले भनेका छन्, ‘ अब अभियान होइन, संघर्ष ! कैलालीको गेटामा ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनार्थ हाम्रो संघर्ष जारी छ । ६०० बेडको संरचना तयार भएको छ । राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयकको मस्यौदा तयार भएको छ । १०० बेडको अस्पताल र प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गर्ने काम पश्चगमन हो । राजनैतिक दलाल र मेडिकल माफियाका विरुद्ध अब सचेत हुनुपर्छ । सुदूरपश्चिमका सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध !’

सरकारले बजेट ल्याएपछि कैलालीमा दिनदिनै आन्दोलन र विभिन्न कार्यक्रम भइरहेका छन् । प्रतिनिधिसभा सदस्य शेरबहादुर कुवँरले बुधवार संसद् बैठकमा पनि यसबारे कुरा उठाएका छन् । उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय विपरीत सरकारले प्रतिष्ठानको कुरा ल्याएपछि जनताले आन्दोलन गरिरहेका उनले संसद्मा जानकारी गराएका छन् ।

गेटामा विश्वविद्यालय बनाउने सन्दर्भमा कैलालीको ४ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद वीरबहादुर बलायर भने सुरुदेखि नै नकारात्मक रहेका थिए । उनले प्रतिनिधिसभा बैठकमै भनेका थिए, ‘नन–टेक्निकल युनिभर्सिटीहरू सञ्चालन गर्नलाई धौंधौं परिराखेका बेलामा सुदूरपश्चिममा किन मेडिकल विश्वविद्यालय ? बडा अचम्म छ ! मेडिकल विश्वविद्यालय खोलेर सञ्चालन गर्ने नेपालको अहिले सामर्थ्य छ ?’

सांसद बलायरले गेटामा मेडिकल कलेज नै सञ्चालन गर्नुपर्ने बताउँदै आएका थिए । सरकारको बजेटमा बलायरकै अडान हाबी भएको र सुदूरपश्चिम आन्दोलित भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement