बीमामा विनियोजित बजेटभन्दा बढी बीमा दाबी हुँदा समस्या आयो : मन्त्री गौतम

बीमामा विनियोजित बजेटभन्दा बढी बीमा दाबी हुँदा समस्या आयो : मन्त्री गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढी बीमा दाबी हुँदा समस्या आएको बताएकी छिन् ।

बिहीबार काठमाण्डुमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्किएको बताउँदै यस वर्षलाई बीमामा बजेट नभएको तर खर्च असीमित हुँदै गएको गुनासो गरिन् ।

उनले भनिन्, ‘मुख्य समस्या अहिले बीमामा हो । जति बजेट विनियोजन भएको थियो त्यो बजेटभन्दा धेरै बढी बीमा दाबी हुन थाल्यो । यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्कियो । यो वर्षलाई बीमामा बजेट नै छैन तर खर्च असिमित हुँदै गयो ।’

बीमामा महिनाको २ अर्ब खर्च हुन थालेको र सरकारले त्यो भुक्तानी गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले बीमामा सुधारको काम गरिरहेको जानकारी दिइन् ।

‘बीमामा महिनाको २ अर्ब खर्च हुन थाल्यो, त्यो दिन सक्ने अवस्था छैन । त्यहाँ चाहिँ हामीले बीमालाई कसरी हुन्छ, सुधार गर्न आवश्यक छ, हामीले त्यो काम गरिरहेको छौं,’ उनले भनिन् ।

मन्त्री गौतमका अनुसार बीमा कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारको योगदान हुने ऐनमा छ, तर अहिलेसम्म संघले मात्र भुक्तानी गर्नुपर्दा एकोहोरो बोझ पर्ने स्थिति पैदा भएको छ ।

उनले भनिन्, ‘बीमामा एकोहोरो बोझ पर्‍यो । बीमा कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारको योगदान हुने ऐनमा छ तर अहिलेसम्म संघले मात्र दिइरहेको अवस्था छ, त्यसले समस्या पर्‍यो ।’