काठमाण्डु- गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
भारत भ्रमणबाट फर्किएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनले पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नेपालको भावी पुस्ताको सुरक्षित भविष्यका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।
‘अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्छ,’ उनले भनेका छन् । उक्त बैठकमा नेपालले प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमार्फत अन्तरदेशीय अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिएको उनले बताए।
प्राकृतिक विपत्तिले पनि सीमाको परवाह नगर्ने यथार्थलाई ध्यानमा राख्दै नेपालले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र निर्माण र संयुक्त कार्यदल गठनको प्रस्तावसमेत अघि सारेको उनले जानकारी दिएका छन् ।
भ्रमणका क्रममा भारतीय समकक्षी अमित शाहसँग साझा सुरक्षा चासोका विषयमा छलफल भएको पनि गुरुङले बताएका छन् । दुवै देशका गृहमन्त्रीले द्विपक्षीय सुरक्षाका विभिन्न आयाम र पछिल्ला चुनौतीमा आपसी समन्वय तथा सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका गुरुङले बताए।
सुरक्षाका विषयबाहेक नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँचका लागि सामना गरिरहेका चुनौती र भारतमा रहेका प्रवासी नेपालीका समस्याबारे पनि छलफल भएको गुरुङले उल्लेख गरेका छन् । ती विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता भारतीय पक्षबाट आएको उनको भनाइ छ ।
गुरुङले बैठक र द्विपक्षीय भेटवार्तामार्फत सुरक्षा, विपद् व्यवस्थापन, व्यापारिक पहुँच तथा प्रवासी नेपालीका समस्यामा क्षेत्रीय र द्विपक्षीय सहकार्य अघि बढाउने विषय उठाइएको बताएका छन् ।


प्रतिक्रिया