धनगढी – सत्तारुढ दलहरूलाई भागबण्डा पुर्याउन सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाइएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर भागबण्डाअनुरुप विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् ।
सोडारीले भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाएका छन् । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाएका छन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एकअर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाउने निर्णय पनि मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् बैठकबाट गरेका छन् । वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनासउने निर्णय प्रदेश मन्त्रिपरिषद्ले गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत राखेका मुख्यमन्त्री सोडारीले आइतबार नै विना विभागीयमन्त्रीको कार्यविभाजन गरेका छन् ।
अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास, एमालेका बिरबहादुर थापालाई वन वातावरण तथा सहकारी, हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन, लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालय र माया पन्तलाई उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोडारीले दिएको स्रोतले बतायो ।





प्रतिक्रिया