काठमाण्डु – सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले आफू नेतृत्वको सरकारमा सत्तारुढ दलहरू नेकपा एमालेबाट ३ र माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री बनाउन लागेका हुन् ।
उनीहरूलाई आझै नियुक्त गर्ने र शपथ दिलाउने तयारी भइरहेको मुख्यमन्त्री सोडारीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार गर्न सहमति भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
निकटस्थ स्रोतका अनुसार एमालेबाट सुरेन्द्र पाल अर्थमन्त्री बन्नेछन् । अरु दुई जना विनाविभागीय मन्त्री बनाउने तयारी छ । एमालेबाट कंचनपुरबाट निर्वाचित सांसद वीरबहादुर थापा र सामानुपातिक सांसद हिरा सार्की मन्त्री बन्ने स्रोतहरू बताउँछन् । त्यस्तै माओवादी केन्द्रबाट ओमविक्रम भाट सामाजिक विकासमन्त्री बन्नेछन् भने लक्ष्मी बिक र अक्कल रावललाई विनाविभागीय मन्त्री बनाउने तयारी छ ।
अहिले मुख्यमन्त्री सोडारीसहित नागरिक उन्मुक्तिको रन्जिता पक्षका कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था तथा कृषि सरकारी मन्त्री छिन् ।
आजै मन्त्रालय विभाजन गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ । सुदुरपश्चिममा मुख्यमन्त्री सोडारीले भौतिक फुटाएर शहरी उर्जा, तथा खानेपानी र सामाजिक फुटाएर शिक्षा खेलकुद र स्वास्थ्य सामाजिक बनाउने तयारी गरेका छन् ।
मुख्यमन्त्री भएको ५१ दिन बितिसक्दा पनि सुदुरपश्चिममा सरकार विस्तार हुन सकेको थिएन । सुदुरपश्चिम सरकार विस्तारको विषयलाई लिएर सत्तारुढ दलहरुबीचमा विवादसमेत थियो ।
सुदुरपश्चिममा समाजवादीलाई एमालेले समर्थन जनाएपनि सरकारमा भने सहभागी भएको थिएन । जसको कारण सरकारको भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको थियो ।




प्रतिक्रिया