सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीले यथास्थितिमा विश्वास मत नदिने

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीले यथास्थितिमा विश्वास मत नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने बताएको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निणर्य गरेको हो ।

बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निणर्य गरेको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् ।

सरकार गठनका लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ । कांग्रेसलाई सरकार गठनका लागि एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति वा माओवादीको साथ आवश्यक पर्छ ।

अब त्यहाँ माओवादीले विश्वासकाे मत नदिने र नागरिक उन्मुक्ति पार्टीले पनि लिखित प्रतिवद्धता खाेजिरहेकाे अवस्थामा प्रतिवद्धता नपाए सुदूरपश्चिम प्रदेश सरकारमाथि फेरी संकट आईलाग्नेछ ।

भागबण्डमा नागरिक उन्मुक्तिले माग्यो लिखित प्रतिवद्धता

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता माग गरेकोे छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले लिखित प्रतिबद्धता मागेको हो ।

पार्टीकी अध्यक्ष रिञ्जता श्रेष्ठले सामाजिक संजाल फेसबुक मार्फत दलीय सहमतिको लिखित प्रतिबद्धता आएपछि मात्र विश्वासको मतका सम्बन्धमा दलको बैठक बसेर निणर्य लिइने उल्लेख गरेकी छिन्।