काठमाण्डु- कैलालीको गेटामा मेडिकल कलेज खोल्नेगरि बनेका संरचना दुई बर्षदेखि अलपत्र पर्दा चिकित्सा विश्वविद्यालय माग गर्दै आन्दोलन चर्किएको छ । गत माघ २९ मा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेपनि अगामी आर्थिक वर्षको बजेटमा भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको छ ।
कहिले विश्वविद्यालय त कहिले प्रतिष्ठान बनाउने भनेर सरकारले नै दुइथरी निणर्य गरेपछि थप अन्योलता सिर्जना भएको हाे । गेटा विश्वविद्यालयबारेको विधेयक अहिलेसम्म मन्त्रीपरिषद्मै थन्किएको छ ।
प्रदेशवासीहरुले भने मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निणर्य विपरीत सरकारले विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको बताएका छन् ।
लोकराज पाण्डेयको नेतृत्वमा संघर्ष समिति नै बनाएर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य कार्यान्वयन गर्नुपर्ने माग गर्दै आईतबार सुदूरपश्चिम बन्दको आह्वान समेत गरिएको छ ।
आईतबार सुदूरपश्चिम पूणर् रुपमा ठप्प हुने उनले बताए। आईतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूणर् रुपमा बन्द गरिने पाण्डयले बताए।
संघर्ष समितिले शुक्रबार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग पनि छलफल गरेको थियो । उनीहरुले पनि आन्दोलनमा साथ दिने भएका छन् ।
यस्तै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि आन्दोलनमा सहभगि हुन सम्पूणर्मा अनुरोध गर्नुभएको छ । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले सुदुर पश्चिमेलिलाई पटक-पटक झुक्याएर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको बताए।
यसअघि बिहीबार गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको साइनबोर्ड टाँसिएको थियो। ६०० शैयाको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा निर्माण भएको संरचना साढे दुई वर्षदेखि अलपत्र छ।गेटा मेडिकल कलेज सञ्चालनका लागि २९ वटा संरचना तयार भएको छ भने ३ वटा निर्माणाधीन छ।
तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।




प्रतिक्रिया