सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण

सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण


काठमाण्डु- सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभा सदस्यले सरकारले अनुदान रोक्दा बन्द हुन लागेको बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्थापन गरी नियमित सञ्चालन गर्न, कतिपय मानव बस्तीमा जङ्गली हात्तीले पु¥याइरहेको धनजनको क्षति रोकथाममा पहल गर्न, बाढीपहिरो पीडितका लागि उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले भूक्षयको रोकथाममा पहल गर्न, प्रदेश स्थायी राजधानी निर्माणमा चासो दिन, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी दिन, आगलागी पीडितलाई राहत दिन, भूकम्पले क्षति पु¥याएका विद्यालयलगायतका संरचनाको पुनःनिर्माणमा ध्यान दिन पनि ध्यानाकर्षण गराए।
बैठकको शून्य समयमा प्रदेशसभा सदस्य जानकीदेवी ऐर बम, प्रकाश बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, शिवसिंह ओली, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा सार्कीले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सभा समक्ष टेबुल गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही माघ १२ गते बस्नेछ । प्रदेशसभाको तेस्रो अधिवेशन यही माघ ५ गते सुरु भएको थियो ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको गत पुसमा एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेशसभाको पहिलो र दोस्रो अधिवेशन सम्पन्न भइसकेको भए पनि नयाँ कुनै कानुन बन्न सकेका छैनन् ।