काठमाण्डु- केन्द्रमा सत्ता समिकरण परिर्वतन भएसँगै त्यसको असर सुदूरपश्चिम प्रदेशमा पनि परेको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीको राजीनामा माग गरेका छन् । आइतबार एमाले, काँग्रेस संसदीय दलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् ।
२० असारमा एमाले सरकारबाट बाहिरिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले नैतिक आधार गुमाईसकेकाले तत्काल राजिनामा दिएर मार्ग प्रसस्त गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलद्वारा हस्ताक्षर गरिएको संयुक्त प्रेस विज्ञप्तीमा बहुमत गुमाइसकेको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनैपनि काम काज नगर्न माग गरिएको छ ।
दोस्रो पटक सम्पन्न भएको प्रदेशसभा सदस्य निर्वाचन भए लगत्तै एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री भएका थिए । त्यसपछी राजनीतिक समिकरण परिर्वतन भएसँगै काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री भएका थिए ।
फेरी केन्द्रमा राजनीतिक समिकरण परिर्वतन भएसँगै गत बैशाख पहिलो साता नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए । उनी एमाले, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा मुख्यमन्त्री बनेका थिए । सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि आउँदो बर्षको बजेट समेत प्रभावित हुने आशंका गरिएको छ ।
प्रतिक्रिया