सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि केन्द्रीय भागबन्डा पर्खर्दै दलहरू

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि केन्द्रीय भागबन्डा पर्खर्दै दलहरू


काठमाण्डु- सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यको शपथ भइसकेको छ । प्रदेश प्रमुख देवराज जोशीले आज (सोमबार)का लागि प्रदेश सभाको बैठक आह्वानसमेत गरिसकेका छन् ।

तर सुदूरपश्चिममा कसकाे नेतृत्वका सरकार बन्ने भन्ने टुंगाे अझै लाग्न सकेको छैन । केन्द्रमा रहेको सत्ता साझेदार दलहरूबीच प्रदेश नेतृत्वको भागबन्डा नमिलेका कारण सुदूरपश्चिममा अझै कसले नेतृत्व गर्ने भन्ने टुंगाे नलागेको प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश सचिव धर्मराज पाठकले बताए । ‘केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने टुंगाे लाग्न सकेको छैन,’ उनले भने, ‘केन्द्रमा सहमति हुन अझै एक सातासम्म लाग्न सक्दछ ।’

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वाका लागि माओवादी केन्द्र, एमाले र नागरिक उन्मुक्ति पार्टीले दाबी गरिरहेको उनले बताए । ‘केन्द्रमा तीनवटै पार्टीको नेतृत्वमा दावी रहेको छ’ प्रदेश सभा सदस्य पाठकले भने, ‘त्यसका लागि छलफल भइरहेको छ, केन्द्रले नेतृत्व टुंग्याएपछि मुख्यमन्त्रीको टुंगो लाग्नेछ ।’

हाल संघीय सरकारलाई समर्थन गरेका माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका सुदूरपश्चिम प्रदेश सभामा सदस्य रहेका छन् । माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्ति पार्टीसँग सात र राप्रपासँग एकजना प्रदेश सभा सदस्य रहेका छन् ।