काठमाण्डु- सत्तारुढ नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन नगरे पारित गर्न समर्थन नगर्ने निर्णय गरेको छ ।
शनिबार बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन नगरे पारित गर्न साथ नदिने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले बताए । उक्त बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।
उनले यसबारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने पनि खड्काले बताए । आज बसेको संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल रानाथारु सहितका ७ जना प्रदेशसभा सदस्य सहभागी थिए ।
यता नेकपा (माओवादी केन्द्र) ले आफ्ना सांसदहरूलाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिएको छ । बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरेको छैन । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट खारेज गर्नुपर्ने माग गरेको छ ।




प्रतिक्रिया