सहमतिपछि सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी काममा फर्के

सहमतिपछि सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी काममा फर्के

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै स्थानीय तहका कर्मचारी आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्किएका छन् ।

सरकारकातर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका वार्ता समिति संयोजक सुरेन्द्रबहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका तर्फबाट संयोजक झलकबहादुर दौल्याल समेतका प्रतिनिधिबीच शनिबार पाँच बुँदे सहमति भएको हो ।

सरकारले मन्त्रीपरिषद्‍बाट स्वीकृत भएर प्रदेश सभामा पेश भइसकेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक अबिलम्ब जारी गर्ने प्रतिबद्धता जनाएको छ ।

सहमति पत्रमा सरकारकातर्फबाट वार्ता समिति संयोजक, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, नेपाली कांग्रेसकाप्रमुख सचेतकबिक्रम धामी, नेकपा एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले हस्ताक्षर गरेका छन् ।

आन्दोलनरत पक्षबाट स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलकबहादुर दौल्याल र सदस्य इन्द्र रावलले हस्ताक्षर गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेव जोशी, नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष धर्मबहादुर देउवा, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन प्रदेश अध्यक्ष बलबहादुर धामी, एकीकृत सरकारी कर्मचारी

संगठनका प्रदेश सचिव सुनिल रावलले समेत हस्ताक्षर गरेका छन् । वैशाख २८ गते देखि कर्मचारीहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका थिए ।