सुदूरपश्चिममा आज ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

सुदूरपश्चिममा आज ओल्के र बुढी हाल्ने पर्व मनाइँदै


काठमाण्डु-आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व आजसुदूरपश्चिम प्रदेशमा हर्षोल्लासकासाथ मनाइँदै छ ।

यो पर्व हरेक वर्ष भाद्र संक्रान्तिका दिन मनाइन्छ । आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा, दूध, दही, अन्य हरियो सागपात दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा यो प्रदेशमा रहेको छ । ओल्के चाड मनाइने भाद्र संक्रान्तिका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्कालगायत स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

खासगरी पहाडी क्षेत्रमा बसोबास गरिरहेकाहरुले ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइ रमाउने पनि गर्दछन् ।

ओल्के संक्रान्तिका दिन गाँउ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हाले भन्ने गरिन्छ ।

भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ ।

यसैबीच सुदूरपश्चिममा साउन १ गतेबाट सुरु भएको बत्ती बाल्ने महिना पनि समापन भएको छ । श्रावण महिना सकिएर भाद्र महिना लागेसंगै बत्ती बाल्ने महिना पनि समापन भएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् ।

साउने संक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पूजापाठ गर्ने चलन रही आएको छ । श्रावणको महिना यो क्षेत्रका प्रसिद्ध धार्मिक शक्तिपीठहरुको दर्शन गर्ने चलन रही आएको छ ।