सुदूरपश्चिममा पनि खडेरी, गर्मीले जनजीवन उकुसमुकुस

सुदूरपश्चिममा पनि खडेरी, गर्मीले जनजीवन उकुसमुकुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्याप्त पानी नपर्दा सुदूरपश्चिम प्रदेशमा पनि खडेरी हुन थालेको छ भने गर्मीले जनजीवन कष्टमय बनेको छ ।

सुदूरपश्चिममा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुँदा खडेरीले धानबाली प्रभावित हुन थालेको छ।

गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन्। पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख खाद्यान्न धानबाली सुक्न लागेकोमा किसानहरू चिन्तित भएका छन् ।

बोरिङ पम्पिङसेटबाट पानी तानेर असार पहिलो हप्तामा नै धान रोपाइँ गरेपनि दुई हप्तादेखि चाहिने जति वर्षा नहुँदा खडेरीले रोपेको धान सुक्न लागेको छ।

साउन महिनाको १० गतेसम्म पनि प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्ण रूपमा सक्रिय हुन सकिरहेको छैन। मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘गएको असार १६ गते धनगढी क्षेत्रमा २१२ दशमलव २ मिलिमिटर वर्षा मापन भएकामा त्यसयता ठूलो वर्षा हुन सकिरहेको छैन ।’

कार्यालयका प्रमुख साहले जलवायु परिवर्तनको असरका कारण मनसुन पूर्ण रूपमा सक्रिय हुन नसक्ने जस्ता समस्या देखिन थालेको बताए। पर्याप्त पानी अभावमा रोपाइँ गरिएको खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने जोखिम बढेको कृषि प्राविधिकले बताएका छन्।

जलवायु परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेरी देखिने जस्ता समस्या बढ्न थालेको बताइन्छ।

पछिल्लो दुई हप्तादेखि बढेको उखरमाउलो गर्मीले जनजीवन कष्टकर बनेको छ। बढेको गर्मीले दैनिक काम गर्न र हिँड्डुल गर्न असहज बनेपछि जनजीवन कष्टकर बनेको हो।

उकुसमुकुस र छट्पटिने गर्मी बढ्दा रातिको समयमा समेत अनिदो बस्नुपर्ने बाध्यता आएको स्थानीयवासीले बताएका छन्।