सुदूरपश्चिममा माओवादीको सरकार ढल्दै, मुख्यमन्त्रीमा दीर्घ सोडारी र रणबहादुर रावलको दौडधुप

सुदूरपश्चिममा माओवादीको सरकार ढल्दै, मुख्यमन्त्रीमा दीर्घ सोडारी र रणबहादुर रावलको दौडधुप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार परिवर्तन हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै गठबन्धनका प्रदेशसभा सदस्यहरुले सरकार हेरफेर हुने बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुरुप काम गर्न नसकेकाले नयाँ सरकार बन्ने दाबी गरे ।

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन । त्यसैले छोटो समयमा जनताका पक्षमा काम गर्ने सरकार बनाउने पक्षमा छौं,’ उनले भने ।

नेता रावलले सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरे । उनले बागमती र प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई मुख्यमन्त्रीको भागबन्डा परेको भन्दै सुदूरपश्चिममा आफूहरुले पाउनुपर्ने बताए ।

‘केन्द्रमा सहमति हुने विषय भएपनि मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको छ । बागमती (बागमतीमा नेकपा एस र कांग्रेसबीच आलोपालो सरकार चलाउने सहमति) र प्रदेश नम्बर १ मा नेकपा एसलाई दिने सहमति भएको छ । शेरबहादुर दाई पनि आज आउँदै हुनुहुन्छ । उहाँसँग केही कुराकानी होला,’ नेता रावलले भने ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घ सोडारी पनि मुख्यमन्त्रीको दाबेदार मानिएका छन् ।

मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारमा भौतिकमन्त्री रहेका सोडारीले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । तर, केन्द्रमा भागबन्डाका आधारमा मुख्यमन्त्रीको टुंगो लाग्ने भएकाले दुवै नेताको दौडधुपले काम नगर्ने स्वयं गठबन्धनका नेताहरु स्वीकार गर्छन् ।

‘बागमती र प्रदेश नम्बर १ मा नेकपा एसलाई मुख्यमन्त्रीको भागबन्डा लगाइएको छ । फेरी पनि सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिँदा गठबन्धनभित्र असन्तुष्टी चुलिन्छ’, नेपाली कांग्रेसका एक नेताले भने, ‘सबै पक्षलाई समेट्ने गरी सहमति हुन्छ । एउटै पार्टीलाई मुख्यमन्त्री सुम्पिने काम हुँदैन् ।’

यता कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको सरकार परवर्तनबारे छलफल नै नभएको बताएका छन् । शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको र काठमाण्डु गएर छलफल हुने बताए ।

बिहीबार मात्र बागमती सरकारमा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो । सुदूरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

प्रदेश सभामा माओवादी दोस्रो दल हो । तर, पहिलो दल नेकपा एकीकृत समाजवादी र तेस्रो दल कांग्रेसका प्रदेश स्तरका नेताहरू सरकार हेरफेर हुनुपर्ने भन्दै नेतृत्वसँग लवइङि गरिरहेका छन् ।

एकीकृतबाट भौतिकमन्त्री रहेका दीर्घ सोडारी र कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल मुख्यमन्त्रीका लागि दौडधुपमा रहे पनि प्रधानमन्त्री देउवाले यसबारे छलफल नै नभएको बताएका हुन् ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र एमालेका १० सांसद छन् । यसैगरी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका १/१ सांसद छन् ।