कैलाली–कञ्चनपुरका हुरीपीडितलाई सरकारको राहत घोषणा


काठमाडौं— २३ जेठमा कैलाली र कञ्चनपुरमा आएको हुरीबतासबाट पीडित परिवारलाई संघीय सरकारले राहत दिने भएको छ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार भएको बैठकले मृतकका परिवारलाई संघीय सरकारबाट १ लाख रुपैयाँ दिइने छ। हुरीबतासबाट २ जनाको ज्यान गएको थियो। सुदूरपश्चिम सरकारले मृतकका परिवारलाई १ लाख ५० हजार रुपैयाँ दिने यसअघि निर्णय गरिसकेको छ।

नेपाल सरकारको तर्फबाट मृतकका नजिकका हकदारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट १ लाख रुपैयाँ दिने तथा घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय भएको बैठकमा जानकारी गराइएको थियो।

प्रदेश सरकारको तर्फबाट मृतकका हकदारलाई १ लाख ५० हजार, पूर्ण रुपमा घर क्षति भएका परिवारलाई २० हजार र घर आंशिक क्षति भएका परिवारलाई १० हजार रुपैयाँ दिने निर्णय भएको जानकारी बैठकमा गराइएको थियो।

सो हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेकाले सोको पूर्ण विवरण प्राप्त भएपछि थप राहत लगायतका गर्नुपर्ने सहयोगका कार्यक्रमबारे नेपाल सरकारले थप निर्णय गर्ने बताइएको छ।

बैठकमा निमित्त मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लगायतका सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो।

संघीय संसदका झपटबहादुर रावल, निरुदेवी पाल, नर बहादुर धामी, लक्ष्मी चौधरी, निरादेवी जैरु र विनादेवी बुढाथोकीले हावाहुरीबाट भएको क्षति र सरकारले राहत उपलब्ध गराउनुपर्ने सम्बन्धमा पेश गरेको ज्ञापनका विषयमा छलफल भएको थियो।

गृहसचिव प्रेम राईले हालसम्म प्राप्त क्षतिको विवरण र नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराइएको उद्दार र राहतका बारेमा जानकारी गराएका थिए। यस विषयमा छलफलका साथै आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा गम्भीर छलफल र समीक्षा भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement