काठमाडौं – सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम ५ दिन भित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडपर्व आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले ५ दिन भित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो ।
अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, बन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सोमबार सिंहदरवारमा भएको बैठकले यस्तो निर्देशन दिएको कृषि मन्त्री चक्रपाणी खनालले जानकारी दिए । पाँच दिन भित्र भुक्तानी नदिने उद्योगीहरुलाई कार्वाही गर्ने चेतावनी सरकारले दिएको छ ।
चिनी मिलले भुक्तानी नदिएपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समिति लगायतले संयुक्त रुपमा सडक आन्दोलन गर्ने चेतावनी दिएपछि सरकार तात्तिएको हो । उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको उनीहरुको आरोप थियो ।
कृषि मन्त्रालयको सिफारीसमा गत वैशाख ५ गते बसेको मन्त्री परिषदको बैठकले उखु किसानलाई उद्योगले चार सय ७१ रुपैँया २८ पैसा र नेपाल सरकारले अनुदान बापत ६५ रुपैँया २८ पैसा गरी प्रति क्विण्टल पाँच सय ३६ रुपैँया ५६ पैसा दिने निर्णय भएको थियो । यसैबीच सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा चिनी बेच्ने व्यापारीलाई कडा कार्वाही गर्न सरकार तम्सिएको छ । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ ।
चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । त्यसअघि आम उपभोक्तामा जनचेतना जगाउनका लागि मुख्य मुख्य सहरहरुमा माइकिङ गरिने कृषि मन्त्री खनालले जानकारी दिए । गत आर्थिक वर्षमा भारत, पाकिस्तान लगायतका मुलुकबाट सस्तो मूल्यमा चिनी आयात भएकाले स्वदेशी उत्पादन गोदाममा थन्काउनु परेको भन्दै नेपाली उद्योगीहरुले गुनासो गरेपछि सरकारले चिनी आयातमा कोटा प्रणाली तोकेको थियो ।




प्रतिक्रिया