काठमाण्डु – सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सशस्त्र प्रहरीले ५९५ वटा बोरामा रहेको २९ हजार ७५० किलो चिनीसहित १ ट्रक नियन्त्रणमा लिएको छ ।
बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले ट्रकमा जाँच गर्दा मकै र गहुँले छोपिएको अवस्थामा चिनी फेला परेको हो ।
सशस्त्र प्रहरीले १८ वटा बोरामा रहेको ९९० किलो मकै, ९५ वटा बोरामा रहेको ५ हजार २७९ किलो गहुँ समेत बरामद गरेको छ ।
बरामद चिनी, मकै, गहुँ र ट्रक सहितको भन्सार दाखिला मूल्य ४५ लाख २५ हजार ८६० रुपैयाँ कायम भएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीका लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाइएको सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।




प्रतिक्रिया