देशभरका कानून व्यवसायीहरुको सुझाव – प्रधानन्यायाधीशविरुद्धको आन्दोलन अझै सशक्त बनाऔं

देशभरका कानून व्यवसायीहरुको सुझाव – प्रधानन्यायाधीशविरुद्धको आन्दोलन अझै सशक्त बनाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै गर्दै आएको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

आगामी रणनीति तय गर्न आइतबार देशभरका ८३ वटै आफ्ना एकाइका पदाधिकारीसँग भर्चुअलमार्फत छलफल गरेको बारले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । साथै बारले काठमाण्डु उपत्यकामा रहेका कानुन व्यवसायीलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान समेत गरेको छ ।

‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गत कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टी सहितको विरोध कार्यक्रमहरु सम्पन्न भएका छन् । मिति २०७८ कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिईने भएकोले काठमाण्डु उपत्यकामा रहनु भएका सम्पूर्ण कानुन व्यवसायीज्यूहरुलाई उक्त कार्यक्रममा बिहान १०ः३० बजे नेपाल बार एसोसियसनमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने नेबाएको अभियानमा एक घण्टा कालो पट्टी सहितको विरोध कार्यक्रममा सरिक भईदिनुहुन हार्दिक आह्वान गर्दछौँ’, आइतबार महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आइतबारको छलफल कार्यक्रममा विभिन्न प्रदेश र जिल्लास्तरका बार इकाइहरुले आन्दोलनलाई बीचैमा रोक्न नहुने सुझाव दिएका छन् । उनीहरुले जिल्ला अदालत र उच्च अदालत तथा उच्च अदालतका इजलासहरुमा रहेका समस्या पनि उठाउन बार नेतृत्वलाई सुझाव दिएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

देशभरिका बार एकाईका अध्यक्ष, सचिवज्यूहरुसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रमपछि प्रकाशित गरिने बताइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरू पनि सोमबार बिहानैबाट जबराविरुद्धको आन्दोलनको रणनीति तय गर्न बैठक बस्दै छन् ।

एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन् । प्रधानन्यायाधीशको राजीनामा मागेको बारले तिहार विदापछि अदालत खुलेलगत्तै सोमबारदेखि धर्ना कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।