हलिउडको हिरो बन्न लागेका युवक ‘फादर अफ कन्टिच्युसन’ बने

हलिउडको हिरो बन्न लागेका युवक ‘फादर अफ कन्टिच्युसन’ बने


काठमाण्डु –नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको फिल्मी हिरो बन्ने लक्ष्य थियो ।

२०१७ सालका लक्का जवान केटो रंगमञ्चको हिरो बन्न हलिउड जाने तरखरमा थिए । त्यसका लागि उनले तयारी पनि गरिसेका थिए । हिरो बन्ने सपना पूरा गर्न उनी हलिउडतिर हानिने अन्तिम तयारीमा पुगिसेका थिए र अमेरिकाको भिसासमेत आइसकेको थियो । उनले २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए ।

तर, १ पुस २०१७ मा राजा महेन्द्रले ‘कू’ गरेपछि सुशीलको सपनामाथि बज्रपात मात्रै परेन, उनको जीवनको लक्ष्य पनि बदलियो । सिनेकाको हिरो बन्न खाजेका युवा कालान्तरमा देशकै नायक बने । उनै देशका नायक सुशील कोइरालाको आज ८५औं जन्म जयन्ती हो ।

उनी प्रधानमन्त्री रहेका बेला २०७२ सालमा नेपालमा दोस्रो संविधानसभाबाट देशले पहिलो पटक उनकै नेतृत्वमा संविधान जारी भएको थियो । कतिपय कांग्रेस नेताले उनलाई ‘फादर अफ कन्टिच्युसन’ समेत भन्छन् । संविधान दिँदा उनको निक्कै चर्चा भयो भने त्यसपछि भारतले लगाएको नाकाबन्दीको बिरोध नगर्दा उति नै आलोचित पनि बने ।

आठ बर्षअघि निधन भएका कोइरालाको नेपाली राजनीतिमा भने योगदान तारिफयोग्य रहेको छ । उनी तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको कार्यबाहक सभापतिका रुपमा लामो समयसम्म रहेका थिए ।

सुशील कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए ।

बोधप्रसाद र माता कुमुदिनीका जेठो छोरो सुशील कोइरालाको जन्म सन् १९३९ मा भएको थियो। उनका ६ भाइ र एक बहिनी थिए । वन अधिकृत बोधप्रसाद जागिरका शिलशिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो ।

वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहेका सुशीललाई कांग्रेसीहरूले ‘सुशील दा’ भनी सम्बोधन गर्छन् । २०१७ सालमा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए । प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए ।

उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए । २०३६ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशील २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका थिए ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइरालाले जीवनकालमा सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने मान्यतालाई व्यावहारिकरुपमा प्रयोग गर्दै आएका थिए । बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको राणा शासनको अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए ।

राणा शासनको विरुद्धमा आन्दोलनको सिङ्गो अगुवाइ गरेका नेपाली कांग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए । यसपछि विसं २०१२ मा उनी कांग्रेसका सदस्यता लिई पार्टीको काममा होमिए ।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिएका थिए । विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनका गए । राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो भन्ने कोइराला प्रवासबाटै राजा महेन्द्रले लागू गरेको पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागे ।

पार्टीले तत्कालीनरुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको साथमा रहेर काम गरे । २०३० तिर सशस्त्र क्रान्तिका क्रममा उनी निर्वासनबाटै पक्राउ परे । पक्राउपछि उनलाई दिल्ली जेलमा राखिएको थियो । अत्यन्त क्रुर र अमानवीय रुपमा उनलाई जेलमा राखिएको हुँदा उनले जीवनको सबैभन्दा ठूलो दुःख त्यस समयमा भोग्नुपरेको थियो । छ वर्ष जेल जीवनपछि कोइराला रिहाइ भए । रिहाइपछि जनमत सङ्ग्रहका समयमा उनी बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किए । त्यसपछि उनी सभापति विश्वेश्वरप्रसाद कोइराला, नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागे ।

बिपी कोइरालाको निधनपछि पार्टी कामका लागि उनी युरोपियन मुलुकमा खटिए । यस क्रममा उनी सोसलिष्ट इन्टनेसनलको उपाध्यक्ष समेत बने । त्यसपछि कोइराला स्वदेश फर्किएर पञ्चायत व्यवस्थाका विरुद्धको आन्दोलनमा होमिए । २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको योगदान अतुलनीय थियो । त्यसपछि २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए । उसबेला उनलाई मन्त्री पदका लागि आग्रह गरिँदा उनले पदभन्दा पार्टीलाई माथि राखेर पार्टीकै काममा नै खटिए । २०५६ मा सम्पन्न सम्पन्न संसदीय निर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट सांसदमा निर्वाचित भए भने २०६२–६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए । तर, २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा कोइराला बाँकेबाट पराजित भए । यद्यपी

२०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उनी बाँके र चितवनबाट निर्वाचित भए । त्यसपछि पार्टीको संसदीय निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै संसदीय दलको नेता पनि बने ।

२०१२ मा पार्टी सदस्य लिएका नेता कोइराला २०३५ सालमा पार्टीको केन्द्रीय सदस्यका बनेका थिए । पाटी भित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि थिए ।

सारभूत कुरा मात्र बोल्ने र बोलेका कुरा व्यवहारमा लागू समेत गर्ने नेताका रुपमा उनी परिचित थिए । त्यसपछि कोइराला पार्टीको महामन्त्रीका रुपमा काम गरे । उपसभापति र कार्यवाहक सभापति हुँदै पार्टीको २०६८ सालमा भएको १२ औं महाधिवेशनबाट उनी पार्टीको सभापतिमा निर्वाचित भएका थिए भने १३ औं महाधिवेशनमा पनि सभापति हुने इच्छा व्यक्त गर्दै आएका थिए ।