सुजाताको दाबी-पार्टी फुटेको छैन

सुजाताको दाबी-पार्टी फुटेको छैन


काठमाण्डु – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति गगनकुमार थापालाई शुभकामना दिएकी छन् ।

पार्टीको महाधिवेशन विवादमा शेरबहादुर देउवाको पक्षमा उभिएकी कोइरालाले शनिबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गरेर सभापति थापालाई बधाई दिँदै अहिलेको अवस्थालाई लिएर दिक्क नमान्नसमेत आग्रह गरेकी छन् ।

कांग्रेसमा युवाले चाहेको जस्तो परिवर्तन आएको बताउँदै त्यसलाई सबैले स्वीकार्नु पर्ने उनको भनाइ छ । ‘हामीले परिवर्तनसित डराउनु हुँदैन, अहिले युवाले, हाम्रो समाजले, हाम्रो नेपाली जनताले परिवर्तन चाहेको छ । त्यो परिवर्तनलाई हाँसेर खुसी मानेर हामीले अङ्गाल्नुपर्छ । नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, परिवर्तन दिएको छ । पार्टी फुटेको जस्तो मलाई फिल भएको छैन । नयाँ सभापति आउनुभएको छ, अलि छिटो आउनु भयो त्यति मात्रै फरक हो’, उनले भनेकी छिन् ।

उनले थापालाई हिजोको कांग्रेस र बीपी कोइरालाको विचारलाई नबिर्सिएर अगाडि बढ्नसमेत सुझाव दिएकी छन् । सम्पूर्ण नेपाली कांग्रेसको साथ रहने उनको भनाइ छ ।

‘पार्टीको अफिस त्यही हो, चारतारे झण्डा त्यहीँ छ, रुख चिह्न त्यहीँ छ, मान्छे त्यही हो यताउता सबै मान्छे त्यही हो पार्टी कहाँ फुटेको छ ।’, उनले अगाडि भनिन्, ‘पार्टी फुटेको छैन, नआत्तिनुस्, दिक्क नमान्नुस् खुसी भएर स्वीकार्नुहोस् ।’