सुजिता भण्डारी मृत्यु प्रकरण : विष, मोबाइल र झोला भेटियो, चप्पल खाेज्दै प्रहरी

सुजिता भण्डारी मृत्यु प्रकरण : विष, मोबाइल र झोला भेटियो, चप्पल खाेज्दै प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीय सुजिता भण्डारीको मृत्यु प्रकरणले गम्भीर आशंका जन्माएको छ । गत असार ११ गते बिहान ६ बजे साथिकोमा जान्छु भनेर घरबाट निस्किएकी भण्डारी आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन् ।

च्याउ खोज्न गएका स्थानीयले वनको बीचको झ्याङमा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिए लगत्तै प्रहरी टोली घटनास्थल पुगको थियो । घटनास्थलमा ‘स्प्राइट’को बोतल पनि भेटिएको थियो । प्रहरीले स्प्राइटमा विष हालेर सेवन गरेको हुनसक्ने आशंका गरेको छ । शवमा अन्य बाहिरी चोटपटक नदेखिएको प्रहरीले बताएको छ ।

तर, भण्डारीका आफन्तले भने हत्या भएको भन्दै हत्यारा सार्वजनिक गर्न प्रहरीलाई दबाब दिइरहेका छन् । सुजिताले घरबाट निस्केको दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले जानकारी दिएका छन् । आफू अपहरण परेको बताएको र हारगुहार गर्दा पनि सकुसल उद्धार हुन नसेको आफन्तको गुनासो छ ।

चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले घटनास्थलमा विषको बोतल भेटिएकाले हत्या हो वा आत्महत्या यकिन नभएको जानकारी दिए ।

‘हत्या जस्तो पनि देखिन्छ,’ उनले भने, ‘तर शव नजिकै विषको बोतल पनि भेटिएको छ । पोस्टमार्टम रिपोर्ट पछि मात्रै हत्या होकी आत्महत्या हो भन्न सकिन्छ ।’

घटनाबारे शुक्ष्म ढंगले अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । भण्डारीको हत्या नै भएको आशंका गरिए पनि यसको निक्र्यौल पोष्टमार्टम रिपोर्टले मात्रै गर्ने प्रहरीले जनाएको छ । पोष्टमार्टम लागी उनको शव त्रिवी शिक्षण अस्पताल काठमाण्डु ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले सुजिताको मोबाइल भेटिएकोले थप केहि कुरा पत्ता लाग्ने जानकारी दिए । उनले शव भेटिएको स्थान नजिकै मोबाइल फेला परेको र कल डिटेल निकाल्ने तयारी भइरहेको जानकारी दिए ।

प्रवक्ता थापाले सुजिताले लगाएको चप्पल खोजी भइरहेको जानकारी दिए । उनले विष, मोबाइल र झोला भेटिएको र अब चप्पलको खोजी भइरहेको बताए ।

प्रहरीले अनुसन्धानलाई तिव्रता दिए पनि हालसम्म हत्या हो कि आत्महत्या हो यकिन गर्न सकेको छैन । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय चितवनको टोली सक्रिय छ ।