काठमाण्डु- चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आत्महत्या गरेको रहस्य खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आत्महत्या गरेकी हुन् ।
असार २० गते मृत अवस्थामा भेटिएकी राप्ती नगरपालिका— ३ की भण्डारीको आफ्नै ठुलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । सुकदेवसँग विवाह नभएपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो । सुजिताले विवाह नगरे मर्ने धम्की समेत दिएकी थिइन् । सुकदेवले सुजिताको प्रस्ताव नमाने पछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीले खुलासा गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
उनीहरुले सकेसम्म विदेश जाने योजना बनाएका थिए । संभव नभए एकआपसमा अपहरणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले सुकदेवलाई काठमाण्डुबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे छ।
पहिला परिवारले हत्याको आशंका गरेर जाहेरी दिएका थिए । अहिले घटनाको विषयमा आमा अम्बिका भण्डारीले सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छिन् । असार २० गते ब्रह्मास्थानी सामुदायिक वनको भीरको खोल्सामा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् ।




प्रतिक्रिया